पाँच पत्रकारलाई कोदो समाचार लेखन पुरस्कार २०८२


AUG 3, 2025

काठमाडौँ । राष्ट्रिय कोदो दिवसको अवसरमा, ‘कोदो समाचार लेखन पुरस्कार – २०८२’ अन्तर्गत पत्रकारहरूलाई पनि पुरस्कृत घोषणा गरिएको छ । कोदोजन्य बाली प्रवर्धनमा भूमिका खेल्ने पत्रकारलाई पुरस्कृत गर्ने कार्यक्रम अन्तर्गत पाँच जना पत्रकारलाई छनोट गरिएको हो ।

सातै प्रदेशका पत्रकारहरूलाई समाचार सामग्री उपलब्ध गराई सहभागीता जनाउन आह्वान गरिएकोमा आवेदन परेकामध्ये पाँज जना पत्रकार पुरस्कृत गर्ने निर्णय गरिएको अनाजले जनाएको छ ।

पुरस्कृतहरूको नाम कोदो दिवस मुल समारोहका दिनन १६ साउन २०८२ मा घोषणा गरिएको हो । जस अनुसार जुम्ला र कर्णाली प्रदेश केन्द्रमा राखेर पत्रकारिता गर्दै आएका कर्णालीमिसन डटकमका संवाददाता सागर परियारलाई ‘सर्वोकृष्ट पत्रकार’ पुरस्कारबाट पुरस्कृत गरिने भएको हो ।

बिजमाण्डू डटकमकी संवाददाता सरला सुवेदीकारोबार दैनिककी संवाददाता कोशिला कुँवर ‘उत्कृष्ट पत्रकार’का रूपमा पुरस्कृत हुने भएका छन् । सुर्खेत र कर्णाली प्रदेश केन्द्रमा राखेर पत्रकारिता गरिरहेका नेपालखबर डटकमका कर्णाली संवाददाता दिनेश कुमार बुढाडडेल्धुराको रेडियो अमरगढीकी कार्यक्रम संयोजक भावना पौडेललाई ‘प्रोत्साहन पुरस्कार’ प्रदान गरिने भएको हो ।

गत वर्षदेखि अनाज पहलकदमीमा कोदोजन्य बालीमा कलम चलाउने पत्रकारहरू पुरस्कृत गर्न थालिएको हो । पुरस्कृत पत्रकारलाई पछि छुट्टै कार्यक्रम गरेर पुरस्कार उपलब्ध गराइने भएको छ ।

गत वर्ष पनि ६ जना पत्रकार पुरस्कृत भएका थिए । जसमा हिमालय टाइम्स दैनिकका वरिष्ठ संवाददाता लेखनाथ पोखरेल,अन्नपूर्णपोष्ट दैनिककी वरिष्ठ संवाददाता ममता थापा,मदन पौड्याल,आर्थिक अभियान दैनिकका संवाददाता प्रशान्त खड्का, टक्सारन्युजडटकमा संवादता रबि थापा र रातोपाटीडटकमकी संवाददाता सरिता थारुलाई कोदो समाचार लेखन पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

गत वर्षसम्म अनौपचारिक रूपमा मनाइँदै आएको कोदो दिवस यस वर्षदेखि औपचारिक र राष्ट्रिय रूपमा मनाउन थालिएको हो। राष्ट्रिय दिवसको रूपमा स्थापना भएपछि कोदोलाई अझ संस्थागत र वैज्ञानिक रूपमा प्रवर्द्धन गर्न सकिनेमा सहभागीहरूले विश्वास व्यक्त गरेका छन्।

अजाज र राष्ट्रिय कृषक समूह महासंघको संयुक्त आयोजनामा २०७७ सालदेखि सांकेतिक रुपमा साउन १५ लाई राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको थियो । यो वर्ष भने सरकारले अपनत्व लिँदै साउन १६ लाई कोदो दिवसको रुपमा घोषणा गरेको छ । यससँग अबका दिनमा साउन १६ गते कोदो दिवस मनाइने भएको छ ।