प्रथम राष्ट्रिय कोदो दिवस २०८२ को सन्दर्भमा मुल आयोजक समितिले जारी गरेको प्रेस विज्ञप्ति


JUL 31, 2025

प्रेस विज्ञप्ती

 

प्रथम राष्ट्रिय कोदो दिवस २०८२ को नारा:

कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार

 

कोदोजन्य वालीहरुले साना किसानको आय आर्जन वढाउन, खाद्य तथा पोषण सुरक्षा गर्न, दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउदै खाद्य प्रणालीको रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने हुँदाराष्ट्रियस्तरमा कोदोजन्य बालीको महत्व र भूमिका लाई थप उजागर गरि खेती विस्तार र प्रवर्द्धनमा हाम्रा संयुक्त प्रयासहरु केन्द्रित गर्न यसै बर्ष देखि कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधारभन्ने नाराका साथ मनाउन गईरहेको प्रथम राष्ट्रिय कोदो दिवसको उपलक्ष्यमा सम्पूर्ण कृषक दाजुभाई दिदीबहिनीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु।

 

विगतमा खाद्य सुरक्षा तथा पोषणको महत्वपूर्ण आधारको रूपमा रहेको भएतापनि आधुनिक जीवनशैली र सोसँगै खाने बालीमा आएको परिवर्तन लगायतका कारण कोदोजन्य बालीहरूको उत्पादन तथा उपभोग घट्दै गइरहेको तथ्याङ्कले देखाउँछ। नेपालमा धान, मकै र गँहु पछि कोदो चौथो मुख्य खाद्यान्न वाली हो। कोदो लाइ पहाडी क्षेत्रमा मकै पछिको महत्वपूर्ण वालीको रुपमा लिइन्छ। यसको खेती सिंचाइ कम हुने, कम मलिलो, पाखो वारी र आकाशे पानीको भरमा पनि गर्न सकिन्छ। नेपालको अधिकांश खेतीयोग्य जमिन एवं जलवायु कोदोजन्य बालीको खेतीको लागि प्रायः उपयुक्त नै देखिन्छ। जलवायु परिवर्तनको दृष्टिकोणबाट पनि अन्य बालीहरूको तुलनामा कोदोजन्य बालीहरू बढी उपयुक्त छन्। यी कम कार्बन उत्सर्जन गर्ने बालीहरूको वर्गमा पर्छन्। यस्ता बालीहरू रासायनिक मलखाद र विषादिको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने प्रकृतिका भएकोले हानिकारक हरित ग्याँस उत्सर्जन कम गर्नमा सघाउ पुर्‍याई जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोगी छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आ.ब. २०८०/८१ को तथ्याङ्कअनुसार २,२४,९३५ हेक्टर जमिनमा कोदोजन्य बालीको खेती भई ३,००,७३२ मे.टन उत्पादन भएको आँकडा रहेको छ जसअनुसार कोदोजन्य बालीको उत्पादकत्व केवल १.३३ मे.टन प्रति हेक्टर रहेको छ। कोदोजन्य बालीहरुमा उन्नत प्रबिधिको प्रयोग, सिचाई, मलखादको व्यवस्था गर्न सकेमा कोदोजन्य बालीहरुको उत्पादन तथा उत्पादकत्व बढाउन सकिने प्रवल सम्भावना छ ।संयुक्त राष्ट्र संघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको रुपमा मनाउने घोषणा गरे अनुरुप नेपालमा पनि विभिन्न गतिविधिहरु सञ्चालन गरि अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाइयो । तत्पश्चात बिभिन्न सरकारी तथा गैरसरकारी निकाय एवं सञ्चार माध्यमबाट भएको प्रचारप्रसार तथा स्वास्थ प्रति सचेतनाको कारण कोदोजन्य उत्पादनको बढ्दो मागसँगै आयात पनि बढ्दै गएको छ । भन्सार बिभागको तथ्याङ्क अनुसार गत आ.ब. २०८१/८२ मा ७६ करोड ६३ लाख ८६ हजार बराबरको करिब १८३१६ मे.ट. कोदोजन्य उत्पादनको आयात भएको देखिन्छ। सोही बर्ष ९४ लाख ७ हजार बराबरको ७० मे.ट. कोदोजन्य उत्पादनको निर्यात भएको तथ्याङ्कबाट देखिन्छ। त्यसकारण कोदोजन्य बालीहरुको आयात रोक्न उत्पादन तथा उत्पादकत्व बढाउनुपर्ने आवश्यकता रहेको छ।

 

कोदोजन्य बालीहरु प्रोटिन, फाइवर, भिटामिन, आइरन, क्याल्सियम, म्याग्नेसियमलगायतका तत्वहरुको राम्रो स्रोत हुन् । पछिल्लो समय अस्वस्थकर खानपान र आधुनिक जीवनशैलीका कारण नसर्ने रोगको तीब्र वृद्धि जनस्वास्थ्यको सबैभन्दा ठूलो चुनौतिको रूपमा देखा पर्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ठम्याइ छ ।यी समस्याहरुको संबोधनको लागि बहुआयामिक एवं बहुपक्षीय प्रयासहरू आवश्यक हुन्छ । तथापि,  कोदोजन्य बाली उत्पादन र उपभोगमा वृद्धि मार्फत विद्यमान समस्या समाधानमा योगदान पुर्‍याउन सकिने देखिन्छ ।

 

पोषण तथा स्वास्थ्थको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण रहेता पनि परम्परागत तरिकाले गरिने खेती प्रणालीका कारण कोदोजन्य वालीहरुको उत्पादन न्यून छ भने अर्को तर्फ यी बालीहरुबाट बन्ने परिकारहरुको विविधिकरणमा ज्ञान नहुँदा उत्पादित वस्तुहरुको उपभोग तथा बजारीकरण अपेक्षित रुपमा हुन नसकेको देखिन्छ । तसर्थ यी बालीहरुबाट बन्ने रोटी, ढिँडो र सातु जस्ता परम्परागत परिकारका अलावा केक, ब्रेड, चाउमिन, कुकिज, विस्कुट,पिज्जा, दुनट जस्ता आधुनिक परिकारमा विविधिकरण गरिएमा वर्तमान पिढिँका जनमानसमा समेत हाम्रा कोदोजन्य बालीको उपभोग बढाउन सकिने देखिन्छ । कोदोजन्य बालीको परिकार विविधिकरण भएमा नीजि उद्यमी तथा होटल व्यवसायी र होमस्टे संचालकहरु मार्फत आन्तरिक र वाह्य पर्यटक सम्म पनि बजार विस्तार गर्न सकिन्छ। यसरी उपभोगका लागि माग बढाउन सके उत्पादित कोदोजन्य बालीको बाली वजारीकरणमा सहयोग हुने र किसानलाई पनि थप उत्पादनमा प्रोत्साहन मिल्न गई अन्य बालीहरुको उत्पादन न्यून हुने मध्य तथा उच्च पहाडी भेगका सिमान्त भूमीमा यी बालीहरुको खेति एवं उत्पादन र उपभोगमा वृद्धि मार्फत नेपालका दुर्गम ग्रामिण क्षेत्रमा सामाजिक तथा आर्थिक रुपान्तरणको लागि कोसेढुँगा बन्न सक्ने सम्भावना रहेको छ ।

 

कोदोजन्य वालीले खाद्य तथा पोषण सुरक्षा सुधारमा पुर्याउने योगदानलाइ मध्यनजर राखिकोदोजन्य बालीहरुका रैथाने जातको खोज, संकलन, चरित्र चित्रण, जातियविकास तथा सुधार गर्नु पर्ने आवश्यकता रहेको छ ।नेपाल कृषि अनुसन्धान परिषद अन्तरगत कोदोजन्य वालीमा अनुसन्धान गरि हालसम्म कोदोका ६ वटा चिनोको १ वटा कागुनोको १ वटा गरि ८ वटा जातहरु उन्मोचन तथा दर्ता गरिएकोछन् भने कोदो जन्य बाली र तिनीहरुको जंगली प्रजातिहरुको संरक्षण कार्य राष्ट्रिय जिन बैंकमार्फत हुँदै आएको छ ।राष्ट्रिय जिन बैंकमा हालसम्म कोदोजन्य बालीका ११४० परिग्रहणहरु सुरक्षित गरि राखिएको छ । बिभिन्न सामुदायिक वीउ बैंकहरूले स्थानीयस्तरमा कोदो र अन्य रैथाने वालीहरूको संरक्षण एवं दिगो उपभोगका लागि कार्य गरिरहेका छन्। स्थानीय ठाँउहरुमा छरिएर गरिएको कोदोजन्य वालीहरुको संकलन, प्रशोधन र वजारिकरणमा स्थानीय तह र नीजि क्षेत्रवाट आवश्यक सहयोग र सहजिकरण हुँदै आएको छ ।

 

कोदोजन्य बालीहरुको पौष्टिक महत्व तथा जलवायुअनुकुल लगायतका कारण पछिल्लो समय कोदोजन्य बालीहरु प्रति आम चासो बढ्दै गएको पाइन्छ भनेकतिपय देशहरुले यस्ता बालीहरुको प्रवर्द्धनको लागि अभियान नै संचालन गर्ने गरेको पाइन्छ । नेपाल सरकारको तर्फबाट कोदोजन्य बालीको विकास एवं प्रवर्द्धनमा विगत केही वर्षदेखि देशव्यापी रूपमा पहल एवं प्रयासहरू भइरहेका छन्। यस क्रममा नेपाल सरकारले प्रादेशिक सरकार र स्थानीय तहसँगको सहकार्यमा कोदोजन्य बालीलाई केन्द्रमा राखी विगत पाँच वर्षदेखि संघीय शसर्त अनुदानको रुपमा वजेट उपलब्ध गराउदै आइरहेको छ। प्रादेशिक र स्थानीय तहहरुले समेत स्थान बिशेष कोदोजन्य रैथाने वाली उत्पादन तथा प्रवर्द्धनमा सहयोग पुर्याउदै आएका छन् । यसवाट आम सरोकारवालाहरुमा कोदोजन्य बालीको महत्वबारे सचेतना अभिबृद्धि र कोदोजन्य बालीको उत्पादन, उपभोग र मूल्य श्रृंखला विकासमा टेवा पुगेकोछ। विद्यालयको दिवा खाजा कार्यक्रम र सरकारी कार्यालयहरुमा स्थानीय स्तरमा उपलव्ध कोदोजन्य बालीमा आधारितपरिकारलाई प्राथमिकता दिन शुरुवात गरिएको छ ।ती प्रयासहरूका केही सकारात्मक नतिजा पनि प्राप्त हुन थालेका छन्।

 

यस वर्षको प्रथम राष्ट्रिय कोदो दिवस २०८२ कृषि विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, भक्तपुर, राष्ट्रिय कृषक समूह महासंघ, अनाज नेपाल, खाद्य तथा कृषि संगठन, नेपालको सयुक्त आयोजनामा यही श्रावण १६ मा चाँगुनारायण नगरपालिका, ताथली, भक्तपुरमा  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री रामनाथ अधिकारीज्यूको प्रमुख आतिथ्यतामा सरोकारवालाहरुको सहभागितामा विशेष समारोह कार्यक्रममा कृषक/राष्ट्रिय कृषक समूह महासंघ/पत्रकार लगायतका विभिन्न विद्यामा पुरस्कार तथा कदर पत्र वितरण र कोदो रोपाइँ गरी प्रथम राष्ट्रिय कोदो दिवस मनाउने कार्यक्रम रहेको छ । त्यसै गरी कोदो दिवसको अवसरमा संघीय तहमा सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय कृषि तथा पशुपन्छी विकास मन्त्रीज्यूको सन्देश प्रकाशन, पत्रकार भेटघाट कार्यक्रम, टेलिभिजन परिसम्वाद लगायतका क्रियाकलापहरु पनि संचालन गरिँदै छन् भने प्रदेश र स्थानीय तहहरुवाट पनि उक्त अवसरमा विविध कार्यक्रमहरु सञ्चालन गरिने छन्।

 

कोदोजन्यवालीको महत्व एवं खाद्यसुरक्षा र पोषण सुरक्षामा कोदोजन्यवालीको योगदानको प्रचार प्रसार र यस बालीको प्रवर्द्धनका लागि आगामी दिनमा तय गर्नुपर्ने कार्यदिशा बारे छलफल एवं बहस तथा यस विषयमा विभाग र मन्त्रालयलाई पृष्ठपोषण गरि प्रथम राष्ट्रिय कोदो दिवस सफल पार्न सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछु ।

 

प्रकाश कुमार सञ्जेल

अध्यक्ष, प्रथम राष्ट्रिय कोदो दिवस

मूल आयोजक समिति एवं महानिर्देशक, कृषि विभाग