१२ औं विश्व माटो दिवस २०८२ [World soil day2025]; प्रेस विज्ञप्ति
आज १२ औं विश्व माटो दिवस २०८२ अवसरमा मुल समाराेह समितिले जारी गरेकाे प्रेस विज्ञप्तिः
१२ औं विश्व माटो दिवस 2082 (World soil day2025) कार्यक्रम सम्बन्धी प्रेस नोट
माटो उर्वराशक्तिको दिगो व्यवस्थापनका लागि विश्वस्तरमा जनचेतना अभिवृद्धिमार्फत एकतावद्ध प्रयासका लागि प्रत्येक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाउने गरिएको छ। खाद्य तथा कृषि संगठन (FAO) को सिफारिसमा संयुक्त राष्ट्र संघको ६८ औं महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ देखि विश्व माटो दिवस मनाउने कार्यक्रमको सुरुवात भएको हो। यस वर्ष संसारभर “Healthy Soils for Healthy Cities” नाराका साथ १२ औं विश्व माटो दिवस मनाईंदै छ। नेपालमा सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलाञ्चोकको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुवात गरी विश्व माटो दिवस मनाउन सुरु गरिएको हो। यस वर्षको विश्व माटो दिवसको मूल नारा “Healthy Soils for Healthy Cities” को नेपाली नारा “स्वस्थ माटो, स्वस्थ गाउँशहर” रहेको छ। दिगो माटो व्यवस्थापनमार्फत माटोको उर्वरा शक्ति सुदृढ गरी स्वस्थ माटो भावी पुस्तालाई हस्तान्तरण विश्व माटो दिवसको मूल मर्म रहेको छ। भूक्षय, बाढी तथा जलवायु परिवर्तन लगायतका प्राकृतिक कारण, व्यवसायिक तथा सघन खेति प्रणालीका कारण सिर्जित माटोको अम्लीयपना, प्राङ्गारिक पदार्थ र खाद्य तत्व ह्रास एवं तिव्र शहरीकरण तथा औद्योगिकीरणले निम्त्याएको माटो प्रदुषण लगायतका कारणबाट विश्वभर कृषि योग्य जमिन निरन्तर कम हुनुका साथै माटोको संरचना र उर्वराशक्तिमा नकारात्मक असर परेको छ। साथै, स्वस्थ उत्पादन प्रविधिको न्यून अवलम्वन, असन्तुलित मलखादको प्रयोग, प्राङ्गारिक मलको न्यून प्रयोग एवं कृषि रसायनको अनियन्त्रित प्रयोगका कारण माटोको गुणस्तर खस्कँदै गएको छ। यसले खाद्य सुरक्षा तथा पारिस्थितिक प्रणालीमा गम्भिर चुनौति उत्पन्न गरेको छ। यस परिप्रेक्षमा, माटोको गुणस्तरको विषयमा कृषक तथा आम नागरिकमा जानकारी प्रदान गरी स्वच्छ उत्पादन प्रविधि अवलम्वन तथा माटो स्वास्थ्य सम्वर्द्धनका प्रयासमा अभिप्रेरित गर्न यस वर्षको विश्व माटो दिवसको नेपाली नारा “स्वस्थ माटो, स्वस्थ गाउँशहर” अत्यन्तै सान्दर्भिक रहेको छ। यस वर्षको नारा मुख्यत: शहर माटोको भूमिकामा केन्द्रित रहेको छ र यसले माटो ढाकिने (soil sealing) र तिव्र शहरीकरणका कारण उत्पन्न चुनौतिहरुलाई उजागर गरेको छ।
सन् २०१४ देखि विभिन्न वर्ष कृषि विभाग, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र (नेपाल कृषि अनुसन्धान परिषद्), नेपाल माटो विज्ञान समाज (NSSS) एवं विभिन्न निकायको साझेदारीमा विविध क्रियाकलाप सञ्चालन गरी विश्व माटो दिवस मनाउँदै आएको सन्दर्भमा यस वर्षको विश्व माटो दिवस “स्वस्थ माटो, स्वस्थ गाउँशहर” नाराका साथ कृषि विभाग, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र (नेपाल कृषि अनुसन्धान परिषद्), संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO), नेपाल माटो विज्ञान समाज (NSSS) र iDE नेपालले संयुक्त रुपमा आगामी डिसेम्बर २ देखि ५, २०२५ मा आयोजना गर्ने निर्णय भएको छ।
१२ औं विश्व माटो दिवसको उपलक्ष्यमा सञ्चालन गरिने मूख्य क्रियाकलापहरु
यस वर्षको विश्व माटो दिवस राष्ट्रियस्तरमा मनाउन कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO-Nepal), iDE नेपाल र Nepalese Society of Soil Science (NSSS) को समन्वयमा देहाय बमोजिमका क्रियाकलापहरु तय गरिएको छ:
- मिति २०८२/०८/१४ मा केन्द्रीय कृषि प्रयोगशाला र FAO-Nepal को समन्वयमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा विद्यार्थी र किसानहरुलाई माटो परीक्षणको लागि माटोको नमूना सङ्कलन गर्ने तालिम सञ्चालन गरिएको छ। साथै, २०८१/०८/१६‑१७ मा सोही स्थानमा माटो परीक्षण शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको छ।
- मिति २०८२/०८/१६ मा कृषि सूचना तथा प्रशिक्षण केन्द्रको समन्वयमा विज्ञहरु डा. चन्द्र प्रसाद रिसाल (प्रमुख माटो विज्ञ एवं सहसचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय), डा. श्रीप्रसाद विष्ट (वरिष्ठ वैज्ञानिक एवं प्रमुख, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र) र डा. मेनिला खरेल (Director of Program, iDE) लाई आमन्त्रण गरी TV Talk Program सञ्चालन गर्ने कार्यक्रम रहेको छ।
- मिति २०८२/०८/१९ बिहान १०:0० बजे देखि राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजना हुने मूल समारोहमा देहाय बमोजिमका कार्यक्रमहरु सञ्चालन हुने छन्:
- विश्व माटो दिवस २०८२ को नारा “स्वस्थ माटो, स्वस्थ गाउँशहर” मा केन्द्रित एक कार्यपत्र प्रस्तुतीकरण,
- “Waste to Manure” theme मा विज्ञहरु इ. प्रदीप अमात्य (Environment Engineer, Lalitpur Metropolitan City), ललित शाह (Climate, Resilience, and Agriculture (CRAG) Lead iDE Nepal) उषा गिरी (Managing Director, Rikishi Compost Pvt. Ltd), सुशील खड्का (Owner, Uday Garden Center, Bhaktapur) सम्मिलित panel discussion,
- Digital Soil Mapping को नतिजा अनुसार माटोको गुणस्तर सुधार गरेका उत्कृष्ट दुई कृषकहरुलाई र माटो विषयमा समाचार सम्प्रेषण गर्दै आएका एक पत्रकारलाई पुरस्कारसहित सम्मान गर्ने। साथै, अनुसन्धान, प्रसार र शिक्षा क्षेत्रका तीन अवकाशप्राप्त माटो विज्ञहरुलाई प्रमाणपत्रबाट सम्मानित गर्ने,
- प्रदेश र स्थानीय तहहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरी सक्रियताका साथ १२ औं विश्व माटो दिवस मनाउन अनुरोध गर्ने।
डिजिटल माटो नक्सा (DSM) का आधारमा नेपालमा खेती गरिने जमिनको उर्वराशक्ति अवस्था सम्बन्धी केहि तथ्यगत विवरण
- डिजिटल माटो नक्सा (DSM) को तथ्याङ्क अनुसार जाँचिएको कुल माटोमध्ये करिब ५४ प्रतिशत माटो अम्लीय, करिब २९ प्रतिशत माटो तटस्थ र करिब १७ प्रतिशत माटो क्षारीय प्रकृतिको पाइएको छ र पूर्वी नेपालको माटो पश्चिम नेपालको तुलनामा बढी अम्लीय रहेको छ।गत वर्ष करिब 53 प्रतिशत माटो अम्लीय, करिब 33 प्रतिशत माटो तटस्थ र करिब १4 प्रतिशत माटो क्षारीय प्रकृतिको पाइएको थियो ।
- नेपालका अधिकांश माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएको छ। करिब ३७ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम, ४५ प्रतिशत माटोमा मध्यम र १८ प्रतिशत माटोमा उच्च मात्रामा पाईएको छ। विशेषगरी तराईको माटोमा हिमाल र पहाडको तुलनामा प्राङ्गारिक पदार्थको मात्रा कम छ।गत वर्ष 36.9 प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ कम, ४7 प्रतिशत माटोमा मध्यम र 16.4 प्रतिशत माटोमा उच्च मात्रामा प्राङ्गारिक पदार्थ पाईएको थियो ।नेपालको माटोमा औषत 2.59 प्रतिशत प्राङ्गारिक पदार्थ पाइएको छ । गत वर्ष नेपालको माटोमा औषत 2.77 प्रतिशत प्राङ्गारिक पदार्थ पाइएको थियो ।
- नेपालमा प्रति वर्ष माथिल्लो सतहतको करिव 1.7 मिलिमिटर माटो भूक्षयका कारण र्हास हुने गरेको छ ।
- देशभर करिब २८ प्रतिशत माटोमा नाइट्रोजन कम, ४८ प्रतिशत माटोमा मध्यम र २४ प्रतिशत माटोमा उच्च पाइएको छ। तराईको माटोमा हिमाल र पहाडको तुलनामा नाइट्रोजनको मात्रा कम पाइएको छ।
- फस्फोरसको स्तर करिब ३५ प्रतिशत माटोमा कम, २१ प्रतिशत माटोमा मध्यम र ४४ प्रतिशत माटोमा उच्च पाइएको छ।
- पोटासको स्तर करिब २८ प्रतिशत माटोमा कम, ४८ प्रतिशत माटोमा मध्यम र २४ प्रतिशत माटोमा उच्च रहेको देखिन्छ।
- सूक्ष्म पोषक तत्वका दृष्टिले मोलिब्डेनम, जिङ्क र बोरोनको मात्रा सामान्यतया कम पाइएको छ। बोरोनको मात्रा विशेषगरी पूर्वी नेपालमा न्यून छ। साथै, सल्फर पनि मुख्य रूपमा तराई क्षेत्रका माटोमा कम देखिएको छ।
नेपालको माटोको स्वास्थ्यता बिग्रनुका प्रमूख कारणहरु
- गोबर वा कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग न्यून हुनु ।
- रासायनिक मलको असन्तुलित प्रयोग हुनुको साथै विषादीको प्रयोग बढ्दै जानु ।
- बालीचक्रको आधारमा खेती नगरिनु र बालीचक्रमा कोशेबालीको प्रयोग घट्दै जानु ।
- अवैज्ञानिक तरिकाबाट सघन खेती गरिनु ।
- बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनबाट पूर्ण रूपमा हटाइनु वा जलाईनु।
- भू-क्षय निरन्तर भै रहनु ।
- औद्योगिक प्रदूषणको मात्रा बढनु ।
- कृषि औजार/यन्त्रको अधिकतम प्रयोगले माटो कडा (Soil Compaction) बन्दै जानु लगायत।
माटोको स्वास्थ्यता सुधार गर्न चालिनु पर्ने कदमहरु
- समय, समयमा आफ्नो खेत, बारीको माटोको परीक्षण गराउने। प्रयोगशालाले परीक्षणको आधारमा सिफारिस गरेको मात्रामा कृषि चुन (माटो धेरै अम्लिय भएमा), प्राङ्गारिक पदार्थ र अन्य पदार्थहरुको प्रयोग गरी उपयुक्त प्रविधि अनुसार माटो व्यवस्थापन गर्ने।
- प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थको उपयोग जस्तै राम्ररी पाकेको गोबर मल, कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग गर्नु पर्ने।
- रासायनिक मलको सन्तुलित प्रयोग, बाली र माटोको अवस्था अनुसारको सिफारिस मात्रामा प्रयोग गर्नु पर्ने।
- बालीचक्रको आधारमा खेती गरिनु पर्ने र बालीचक्रमा कोशेबालीको प्रयोग गर्नु पर्ने।
- माटो अनुसार उपयुक्त बालीहरु छनोट गरी वैज्ञानिक तरिकाबाट व्यवस्थित सघन खेती गरिनु पर्ने।
- बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनमा मिसाउने।
- भू-क्षय रोक्ने प्रविधि अपनाउनु पर्ने र पानीको निकास गरी खेत, बारीमा बाढी बग्न नदिने।
- औद्योगिक प्रदूषणको मात्रा न्यूनिकरण गर्नु पर्ने र नकुहिने फोहोरहरु नफाल्ने।
- कृषि औजार/यन्त्रको वैज्ञानिक प्रयोग गर्ने र अधिक प्रयोग घटाई माटो कडा हुन नदिने ।
माटो सुधार तथा दीगो माटो व्यवस्थापनमा नेपाल सरकारको प्रयासहरु
नीतिगत
- राष्ट्रिय मल नीति, 2058- उदेश्यमानै माटोको उर्वराशक्ति सुधारवाट कृषि उत्पादकत्व वृध्दि गर्ने उल्लेख भएको ।
- राष्ट्रिय कृषि नीति 2061-प्राँङ्गारिक कृषिलाइ बढावा दिइ माटो सुधार गरिने नीति उल्लेख ।
- 2077 फाल्गुण 12 मा डिजिटल स्वायल म्याप अभियान शुरु गरि सो को व्यवस्थापन कार्यविधिमार्फत निरन्तरता ।
संरचनागत
- नेपाल कृषि अनुसन्धान परिषद अन्तरगत राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र
- संघीयस्तरमा कृषि विभाग अन्तरगत केन्द्रिय कृषि प्रयोगशाला अन्तरगत माटो तथा मल परीक्षण शाखा
- प्रदेशस्तरमा माटो तथा मल परीक्षण प्रयोशाला
कार्यक्रमगत
- प्रदेश तथा स्थानीय तहमार्फत वार्षिक करिव 10 हजार माटो नमुना संकलनका लागि संघवाट वित्तीय हस्तारणमार्फत बजेट व्यवस्था र सो को डिजिटल स्वायल म्यापमा विवरण प्रविष्टी
- माटो परीक्षण घुम्ती शिविर कार्यक्रम
- माटो स्वास्थ कार्ड (Soil Health Card) वितरण
- प्राङ्गारिक कृषि उत्पादन तथा प्राङ्गारिक मल उत्पादन कार्यक्रम प्रवर्द्वन
- दीगो माटो व्यवस्थापन कार्यक्रम
अन्त्यमा,
माटो हाम्रो पारिस्थितिक प्रणालीको अभिन्न अङ्ग हो। यस अर्थमा माटो जिवित र संवेदनशील विषय हो। माटो स्वस्थ रह्यो भने मात्र हरेक जीव स्वस्थ रहन सक्छन्। ग्रामीण क्षेत्रमा असन्तुलित रासायनिक मल र अत्यधिक विषादीको प्रयोग तथा अव्यवस्थित खेति एवं शहरमा अत्यधिक प्लाष्टिकको प्रयोग, औद्योगिक तथा घरायसी फोहोरको कारण माटोको गुणस्तरमा ह्रास आइरहेको छ।शहरीकरण बढ्दै जाँदा खुला माटो कङ्क्रिट र सडकले ढाकिँदैछ, जसले माटोको पानी सोस्ने र बिरुवा उमार्ने क्षमता कम भएको छ। त्यसैले, खेति हुने गाउँको माटो जस्तै शहरको माटो पनि मूल्यवान छ र यसको संरक्षण एवं गुणस्तर अभिवृद्धि पनि उत्तिकै आवश्यक छ भनि आमजनमानसमा चेतना हुनु अपरिहार्य छ।
माटोको गुणस्तर सुधार र संरक्षण हामी सबैको साझा जिम्मेवारी हो। यसै सन्दर्भमा, यस वर्षको विश्व माटो दिवस को नारा “Healthy Soils for Healthy Cities” अर्थात “स्वस्थ माटो, स्वस्थ गाउँशहर” लाई जनमानसमा पुर्याउन हामी पत्रकार महोदयहरूसँग हार्दिक अनुरोध गर्दछौँ।
“विश्व माटो दिवसमा सहभागी होऔं र दिगो भविष्यका लागि अमूल्य स्रोत संरक्षण गर्न प्रतिवद्ध बनौं”
धन्यवाद
प्रकाश कुमार सन्जेल
महानिर्देशक, कृषि विभाग
विश्व माटो दिवस- PRESS NOTE 2082-08-17

