२८ औँ राष्ट्रिय चिया दिवस: चियाको तथ्यांक समेटिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको विज्ञप्ति


APR 27, 2024

नेपाल सरकार

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

कीर्तिपुर, काठमाडाैँ। 

सन्दर्भः २८ औँ राष्ट्रिय चिया दिवस

 २०८१ बैशाख १५

 

प्रिय पत्रकार मित्रहरू,

नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र चिया कृषक, उद्योग, मजदुर, व्यवसायी एवं चियाका पारखीहरूको सहभागितामा हरेक वर्ष बैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको व्यहोरा विदितै छ । २८ औँ राष्ट्रिय चिया दिवस मनाउँदै गर्दा यस वर्षको नारा निम्नानुसार तय गरिएको छः

 

कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण ।

 

नेपालको निर्यातजन्य केहि सिमित कृषि बालीहरू मध्ये चिया अग्रस्थानमा पर्दछ । ग्रामिण रोजगारी सिर्जना गर्नमा होस् वा विदेशी मुद्रा आर्जन गर्नमा नै किन नहोस्, नेपाली चियाले देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ । नेपालको चियाले कृषि, उद्योग र पर्यटनलाई एउटै धागोमा उनेर अन्य उद्योगभन्दा फरक र विशिष्ट पहिचानको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । यति हुँदा हुँदै पनि नेपाली चिया क्षेत्रले पछिल्ला दिनहरूमा विशेषगरी बजारीकरणको पाटोमा विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको छ ।

 

बोर्डको आ.व. २०७९/८० को तथ्याङ्क अनुसार नेपालमा कुल २०,२३० हेक्टर जमिनमा चिया रोपण गरिएको छ भने अस अवधीमा २ करोड ६४ लाख केजी तयारी चिया उत्पादन भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधीमा १ करोड ६५ लाख केजी चिया निर्यात गरेर नेपालले ३ अर्ब ९४ करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको छ । नेपालले गरेको चियाको कुल निर्यातमध्ये ९७.८० प्रतिशत निकासी भारतमा नै भएको हुँदा भारतिय बजार नेपाली चियाको सबैभन्दा ठूलो बजार रहेको कुरामा दुई मत छैन । तसर्थ, भारत सरकारले आयात सम्बन्धी नीतिमा सानो परिवर्तन मात्रै गर्दा पनि नेपालको चिया क्षेत्रमा ठूलो हलचल आउने गरेको छ ।

 

केही हप्ता अघि मात्रै भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोक्दा काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेका १७ ट्रक तयारी चिया अलपत्र परेको थियो। नेपाल सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, मेची भन्सार कार्यालय, चियाका वस्तुगत संघसंस्थाहरू एवं व्यवासायीहरूको संयूक्त पहलमा तत्कालका लागि भारतिय अवरोध हटेर हाललाई ती १७ वटा ट्रक छुटेका छन्। तर विगतमा पनि भारतिय पक्षबाट यस्ता अवरोधहरू भइ नै रहेकाले भविष्यमा फेरी विभिन्न बहानामा नेपाली चियाको निकासी रोक्ने घटना नदोहोरिएला भन्न सकिन्न ।

 

नेपाली चियाको गुणस्तर र विषादीका अवशेषहरूलाई कारण देखाउँदै त्यस्ता अवरोधहरू भारतिय पक्षबाट हुने गरेको छ । तर भारतमै उत्पादन हुने चियाको तुलनामा नेपाली चियाको गुणस्तर निकै उच्च रहेको छ । गत मार्च २४ देखि २६ मा संयूक्त राज्य अमेरिकाको लस भेगासमा सम्पन्न भएको वर्ड टी एक्स्पो २०२४ मा नेपालको सिद्धदेवी टि स्टेट प्रालिले वेभरेज च्यालेन्जतर्फ ग्राण्ड च्याम्पियनको रुपमा पुरस्कृत भएको थियो । विगत वर्षहरूमा पनि चीनमा भएको टी च्याम्पियनसीपमा नेपाली चिया उत्पादकहरूले ग्राण्ड गोल्ड मेडल जितेका यथेस्ट उदाहरणहरू भएका कारण भारतिय पक्षबाट नेपाली चियालाई गुणस्तरका सम्बन्धमा लगाएको आरोपमा कुनै आधार नभएको पुस्टी हुन्छ।

 

यस्ता समस्याहरूलाई दिगोरुपमा सम्बोधन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत रहेका प्रयोगशालाहरूलाई सबल बनाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम एग्रिडिटेसन गर्न आवश्यक छ । साथै, नेपाली चियाको दिगो बजारीकरण गर्न अब भारतिय बजारको विकल्प खोज्न पनि ढिलो गर्नुहुन्न । चीन, पाकिस्तान, रुस, अमेरिका, जर्मनी लगायत युरोपेली बजारमा निकासी भइरहेको नेपाली चियाको परिमाण बढाउन सके नेपाली चियाको बजारीकरणका यस्ता समस्याहरूको दिगो समाधान गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । यसका लागि चिया उत्पादक संघसंस्थाहरू, निजी एवं सहकारी क्षेत्रहरू एकजुट हुन राष्ट्रिय चिया तथा कफी विकास बोर्ड हार्दिक अपिल गर्दछ। 

 

नेपाली चियाको उत्पादन, रोपण, आयात, निर्यात सम्बन्धी पछिल्लो तथ्याङ्क

Fiscal year Export Import Plantation (ha) Production (Kg)
Export Qty (Kg) Export Value (Rs..,000) Import Qty (Kg) Import Value (Rs..,000)
2075/76 15,043,796     3,203,908       343,349     117,731      28,732 25,205,885
2076/77 11,185,198     2,782,841       218,629       77,397       16,901     24,118,250
2077/78 11,920,736     3,797,140       346,806     151,312       16,917     23,745,902
2078/79 12,494,252     3,434,350       203,713       83,645       20,237     26,379,493
2079/80 16,594,913 3,937,266 277,575 129,179     20,230   26,401,942
2080/81 

Chaitra end   

10,178,835 25,41,860 30,335 27,001