मौसमी फल किम्बु खाऊँ

बद्रीप्रकाश ओझा
अंग्रेजीमा मलबेरी भनिने किम्बु पहाडी गाउँघर, वनजंगलतिर पाइने फल हो। काठमाडाैँ उपत्यकासहित पहाडी भेगका साथै तराई र भित्री मधेशमा यति बेला किम्बु लटरम्म पाकेको देख्न पाइन्छ। गाउँघरमा किम्बुबारे परस्पर विरोधी विचार देखिन्छन्। किम्बु खाए रगतमासी पर्छ भन्नेहरू पनि देखिन्छन्। बाबुआमाका आँखा छलेर बालबालिका किम्बुका रुखमा झुम्मिएको देखिन्छ। यसलाई सामान्य र सहजै उपलब्ध वनस्पति मानिए पनि स्वास्थ्य र आर्थिक दुवै दृष्टिले यो लाभदायक छ।
यसलाई घाँसका रूपमा पनि प्रयोग गरिन्छ। रेसम खेतीका लागि सबैभन्दा उपयुक्त हो यो बिरुवा। नेपालमा यसलाई खास गरी घाँसको विकल्प, रेसम खेती र माटोको स्वास्थ्य वृद्धिमा उपयोग गरिन्छ। विश्व खाद्य तथा कृषि संगठनले किम्बुलाई एसियाली मुलुकहरूको आर्थिक रूपान्तरणमा भूमिका खेल्न सक्ने बिरुवाका रूपमा परिभाषित गरेको छ। सामान्यतया कृषि बारीका लागि सबैभन्दा उपयुक्त तापक्रम २२ डिग्री सेल्सियस मानिन्छ। किम्बु फल उत्पादनका लागि १२ देखि ३८ डिग्री सेल्सियस तापक्रमलाई उपयुक्त मानिन्छ। चौबीसदेखि २८ डिग्रीमा सबैभन्दा राम्रो फल लाग्छ।
किम्बु उत्पादनका लागि हावामा ६५ देखि ८० प्रतिशत सापेक्षिक आद्रता उपयुक्त मानिन्छ। दैनिक पाँचदेखि १२ घण्टा घाम लाग्नुपर्छ। माटोको गुणस्तर ६.२ देखि ६.८ उपयुक्त मानिन्छ। कम्तीमा ६ सय मिलिमिटरदेखि दुई हजार पाँच सय मिलिमिटर वर्षा उपयुक्त मानिन्छ। उचाइका हिसाबले हेर्ने हो भने समुद्री सतहबाट सात सय मिटरसम्म किम्बुका लागि उपयुक्त उचाइ हो तर काठमाडौँजस्तो १४ सय मिटरको उचाइमा पनि सडक किनारतिर किम्बु फलेको देखिन्छ, तर उत्पादन भने कम हुन्छ।
सन् २०२५को तथ्यांकअनुसार विश्वमा किम्बुको फल र यसका अन्य उत्पादनको बजार मूल्य ३८ अर्ब डलरको छ। यो बजार बढेर सन् २०३३ मा ६० अर्ब पुग्ने अनुमान छ। त्यसै गरी रेसमको कमाइ सन् २०२३ मा ६ अर्ब अमेरिकी डलर बराबरको थियो भने सन् २०३० सम्ममा ११ अर्ब पुग्ने अनुमान छ।
नेपाल, भारत र चीनमा किम्बुको आर्थिक हैसियत उच्च छ। भारतको दक्षिणी भागमा यसको उपयोगिता बढी छ। तथ्यांक अनुसार कर्नाटकको सिकाबलपुरका १२ प्रतिशत महिला किम्बु खेतीमा संलग्न पाइएको छ। उक्त क्षेत्रका अन्य १६ प्रतिशत महिला रेसम खेतीमा संलग्न छन् भने ४३ प्रतिशत महिलाले रेसमको धागो उत्पादन गर्दै आएका छन्। यो अवस्था नेपाल र चीनमा पनि राम्रै छ।
हार्वर्ड मेडिकल स्कुलको अध्ययन अनुसार किम्बुमा स्वास्थ्यका लागि आवश्यक पर्ने खनिज, भिटामिन र एन्डिअक्सिडेन्ट तत्त्व पाइन्छ। उदाहरणका लागि किम्बुमा पाइने फ्लाभोनोइड तत्त्वले शरीरमा अक्सिडेटिभ स्ट्रेस बढ्नबाट रोक्छ। अक्सिडेटिभ स्ट्रेसले हाम्रो शरीरमा भौतिक, मनोगत, संवेगात्मक सबै किसिमका स्वास्थ्यमा गिरावट ल्याउँछ। किम्बुमा पाइने भिटामिन सीले कतिपय क्यान्सरको कोष वृद्धिलाई रोक्न सहयोग गर्छ।
किम्बुमा म्याग्नेसियम, फोस्फोरस, पोटासियम, आइरन तथा क्याल्सियम जस्ता तत्त्व पाइन्छ। एक गिलास अथवा एक सय ४० ग्राम किम्बुमा ६० क्यालोरी ऊर्जा पाइन्छ। यो ऊर्जा दैनिक आवश्यक मात्राको अघि न्यून मानिन्छ। अनुसन्धानमा एक वयस्क मानिसलाई दैनिक दुई हजार क्यालोरी ऊर्जा आवश्यक पर्छ भन्ने मान्यतालाई आधार मानेर अध्ययन गरिएको हो।
एक सय ४० ग्राम किम्बु खाँदा कार्बोहाइड्रेट १४ ग्राम पाइन्छ, जो दैनिक मात्राको पाँच प्रतिशत हो, अथवा भोक लागेका बेला एक मुठी किम्बु खाए राहत पुग्छ। रेसा २.४ ग्राम अथवा आवश्यक मात्राको नौ प्रतिशत, सुगर ९ ग्राम पाइन्छ, त्यो पनि नगण्य नै हो। प्रोटिन दुई ग्राम र शरीरलाई चाहिनेमध्ये चार प्रतिशत पाइन्छ। भिटामिन सी ५१ मिलिग्राम अथवा हामीलाई दैनिक चाहिनेमध्ये ८५ प्रतिशत पाइन्छ। यही तत्त्व हो, जसले हाम्रो शरीरमा क्यान्सरका कोष उम्रिनबाट रोक्न योगदान गर्ने अध्येताहरू बताउँछन्।
त्यस्तै, भिटामिन के १० माइक्रोग्रामसहित आवश्यकताको १३ प्रतिशत पाइन्छ भने आइरन २.४ मिलिग्राम पाइन्छ, जो दैनिक आवश्यकमध्ये १४ प्रतिशत हो। यसै गरी उक्त तौलको किम्बुमा शारीरिक आवश्यकताको १४ प्रतिशत अथवा ५५ ग्राम क्याल्सियम पाइन्छ। यी सबै तत्त्वको काम शरीरलाई रोगसँग लड्न सक्ने क्षमता बढाउने हो।
तर कार्बोहाइड्रेटले भने शरीरमा ऊर्जा प्रदान गर्छ। त्यसैले परापूर्व कालमा अनिकालका बेला नुन र भात खाएर जीविका चलाउने प्रचलन थियो। अझै पनि नुन र भात खान पाए मरिँदैन भन्ने भनाइ छ। फल मात्र नभई किम्बुको पातलाई चिया वा अन्य खाद्य वस्तुमा मिसाएर खाँदा पनि मुटुको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको तथ्य अध्येताहरूले पत्ता लगाएका छन्।
अध्येताहरूले एक हेक्टर जमिनमा लगाइएको किम्बुले सातदेखि १२ मेट्रिक टनसम्म कार्बनडाइअक्साइड ग्यास पचाउने बताएका छन्। पानी तथा वातावरण संरक्षणका क्षेत्रमा कार्यरत अध्येताहरूले किम्बुमा अन्य वनस्पतिका तुलनामा ३० प्रतिशत बढी कार्बन पचाउन सक्ने क्षमता रहेको बताएका छन्। यस्तै किम्बुका कारण माटोमा नाइट्रोजनको मात्रा २० देखि ३० प्रतिशतसम्म वृद्धि हुने पनि अध्येताहरूको दाबी छ।
चीनको नानजिन विश्वविद्यालयले सन् २०२४ मा गरेको एक अध्ययनअनुसार किम्बुमा एन्थोसियानिन नामक तत्त्व पाइन्छ। यसले मानव स्वास्थ्यमा रोगसँग लड्ने क्षमता वृद्धि गर्दछ। टर्कीको गुमसान विश्वविद्यालयका प्राध्यापक इब्राहिम तुरिनको समूहले सन् २०१६ मा गरेको एक अनुसन्धानले पनि यसलाई थप पुष्टि गरेको छ।
ताइवानस्थित नेसनल युनिभर्सिटीका प्राध्यापकहरूले गरेको एक अनुसन्धान अनुसार मधुमेह (डायबिटिज)को उपचारमा किम्बुको पातलाई उपयोग गर्न सकिने देखिएको छ। यसको साइड इफेक्ट पनि कम हुने अनुसन्धानबाट पत्ता लागेको छ। खास गरी खानपानका क्रममा हाम्रो शरीरमा इन्सुलिनको उत्पादन घटेपछि मधुमेह हुने चिकित्सकहरू बताउँछन्। किम्बुको पात नियमित सेवन गर्नाले इन्सुलिनको उत्पादन बढ्ने अनुसन्धानले देखाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९९० का तुलनामा सन् २०२२ मा आइपुग्दा किशोरावस्थामै मधुमेह हुनेको संख्यामा सात प्रतिशतले बढेको छ।
त्यस्तै, किम्बुको उपयोगबाट पाचन क्रियामा सुधार, ज्वरो र जोर्नी दुखाइ पनि कम पार्ने टोकियो विश्वविद्यालयस्थित चिकित्सा अध्ययन संस्थानले गरेको अध्ययनले देखाएको छ। त्यसैले मौसमी फल किम्बुको उपभोग बढाएर स्वास्थ्य लाभ गरौँ। बालबालिकाले खान खोजे नरोकौँ।
कृपया याद गरौँ
काँचो किम्बु स्वास्थ्यका लागि हानिकारका मानिन्छ। अमेरिकी खाद्य तथा औषधि प्रशासनको अध्ययनअनुसार काँचो किम्बु धेरै अमिलो हुने हुनाले यसले वाकवाकी लाग्ने, शरीर तथा नसा बाउँडिने, मानसिक समस्यासमेत उत्पन्न हुनसक्ने तथ्य पत्ता लागेको छ।
पाकेकै किम्बु भए पनि एलर्जीको समस्या भएकाहरूले चिकित्सकको सुझावअनुसार मात्र सेवन गर्नु उचित हुने अध्ययनले देखाएको छ। यदि सुकाएर बट्टामा प्याक गरेको किम्बुको धुलो वा अन्य परिकार सेवन गर्ने भए एक पटकमा बढीमा ४० ग्राम मात्र सेवन गर्न पनि अध्येताहरूले सिफारिस गरेका छन्।
(ओझा ‘किसानको सिक्ने क्षमता’ विषयमा पोस्ट ‘डक्टरल अनुसन्धानकर्ता हुन्।)
साभारः उकालाे डक कम