काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) ले मधेश प्रदेशको जनकपुरमा आफ्नो पहिलो प्रादेशिक कार्यालय स्थापना गरेको छ।
यस कार्यालयको उद्घाटनले एफएओको कार्यक्रमलाई विकेन्द्रीकरण गर्दै प्रादेशिक सरोकारवालासँग नजिकको सहकार्यको वातावरण सिर्जना गर्ने उद्देश्य राखेको छ।
यस कार्यालयमार्फत, एफएओ नेपालले खाद्य सुरक्षा प्रवर्द्धन, समावेशी विकास र सहनशीलता अभिवृद्धि गर्दै मधेश प्रदेशका विभिन्न जिल्लामा कार्य संचालन गर्नेछ।
उद्घाटन कार्यक्रममा एफएओ नेपालका प्रमुख केन शिमिजु र मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले संयुक्त रूपमा रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् ।
कार्यक्रममा मन्त्रालयका सचिव विनय कुमार कर्ण, सरकारी प्रतिनिधि, स्थानीय जन प्रतिनिधि, संयुक्त राष्ट्रसंघका साझेदार र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रममा एफएओका प्रमुख केन शिमिजुले मधेश प्रदेशका परियोजनाहरूको कार्यान्वयनमा तिव्रता ल्याउने र समुदाय सशक्तिकरण, स्थानीय कृषि अभ्यास सुधार, र समाजमा सकारात्मक परिवर्तन ल्याउने दिगो समाधानहरूको प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले एफएओ नेपालले खाद्य सुरक्षा, ग्रामीण विकास र दिगो आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न सहकार्यको केन्द्रका रूपमा कार्य गर्ने विश्वास व्यक्त गरे ।