आलुको काम, आलुमै पीएचडी

झापा । बायोटेक्नोलोजीमा स्नाकोत्तर गरेको छोरो विदेश नगई घर फर्किएर कृषिमा लाग्ने खबरले बुबा देवप्रकाश निरौलालाई पिरल्यो। देवप्रकाशले त्यो दिन छोरालाई भने, “गाउँ आएर कृषिमा लाग्छस् र बाबुरु बरु विदेश जा।”
झापाका प्रशोधन निरौलाले बुबाको कुरा सुनेनन्। बरु उनले अर्को निर्णय लिए—आलुमा पीएचडी गर्ने।
छोराले पीएचडीका लागि रोजेको विषयले परिवारमा असहजता थप्यो। बुबाआमाले उनलाई भने, “के विषय रोजिस् नि कान्छा, छोराले केही राम्रो विषय पढ्ला भनेको, झन् यस्तो विषय१ अरू केही विषयमा पीएचडी गरे हुँदैन ?”
प्रशोधन आफूले छानेको विषयमै अनुसन्धान गर्ने जिद्दीमा रहे। गाउँ फर्किए। गाउँमा कृषि क्षेत्रमा अनुसन्धान गर्न सकिने थुप्रै विषय छन् भन्ने उनलाई थाहा थियो।
उनले काठमाडौँस्थित त्रिचन्द्र कलेजबाट माइक्रोबायोलोजीमा स्नातक सकेपछि काठमाडौँ विश्वविद्यालयबाट बायोटेक्नोलोजीमा स्नातकोत्तर गरेका थिए। त्यसपछि कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा जागिरे भए। त्यहाँ उनी ल्याबमा काम गर्थे। आयुर्वेदिक औषधिबारे अनुसन्धान गर्थे।
तर उनले त्यहाँ लामो समय काम गर्न सकेनन्। उनी कुनै विषयमा अनुसन्धान गर्न चाहन्थे। विदेश गएर पीएचडी गर्ने सोच बनाए। विदेशका केही विश्वविद्यालयमा आवेदन पनि दिए, भिसा पाएनन्। “कि विदेश जान्छु, कि घर फर्किन्छु भन्ने लाग्या थियो। हङकङमा प्रयास गरेको नभएपछि यहीँ पीएचडी गर्छु र काम पनि गर्छु भन्ने सोचेँ,” उनी भन्छन्।
केराका बिरुवा उत्पादनले सिकाएको पाठ
प्रशोधनले नेपालमै ‘टिस्यु कल्चर’मा काम गर्ने योजना बनाए, जसको मद्दतबाट रोग प्रतिरोधात्मक क्षमता भएका बीउ र बिरुवा उत्पादन हुन्छ। उनले नेपालमा के—के फलफूल र तरकारी धेरै आयात हुन्छ भनेर हेरे। त्यो बुझ्न बल्खुस्थित तरकारी तथा फलफूल बजार गए। अन्य ठाउँमा पनि बुझे।
उनले थाहा पाए— केरा पनि नेपालमा धेरै आयात हुने मध्येको फलफूल रहेछ। अनि, केराको भाइरसरहित बिरुवा उत्पादन गर्ने योजना बनाए। “केही हदसम्म भए पनि नेपालको उत्पादनले भारतबाट आयातीत वस्तुलाई रिप्लेस गरोस् भन्ने मेरो योजना थियो,” उनी भन्छन्, “हरेक हप्ता सात ट्रक केरा बाहिरबाट ल्याइँदोरहेछ। जी—९, विलियम हाइब्रिडलगायत केरा भारतबाट आयात भइरहेको रहेछ।”
केरा नेपालमै उत्पादन गर्न भाइरसरहित बिरुवा चाहिन्थ्यो, जुन टिस्यु कल्चर ल्याबबाट उत्पादन गर्न सकिन्थ्यो। “कृृषिका लागि पूर्वी नेपाल राम्रो छ भनेर ल्याब खोल्न झापा फर्किएँ,” उनी भन्छन्, “त्यसपछि साथी अशेष आचार्य र म मिलेर झापाको खुदुनाबारीमा तीन वटा कोठाबाट ल्याब शुरू गर्यौँ।”
उनीहरूले २०७६ सालमा कोशी प्रदेश सरकारको सहयोगमा ‘एपेक्स बायोटेक’ नाम राखेर ल्याब खोले। शुरूमा जी—९ प्रजातिका केराका बिरुवा निकाले। चरणचरणमा गरेर थुप्रै बिरुवा उत्पादन भए। तर बिरुवा सोचेजस्तो बिक्री गर्न सकेनन्।
“हामीले देशमै पर्याप्त केरा फलाउन बिरुवा उत्पादन गर्यौँ,” प्रशोधन भन्छन्, “सरकारले हाम्रो उत्पादनको सुनश्चितता गरिदिएन। स्थानीयले अलिअलि किने, तर यहाँ बढी चिनीचम्पा प्रजातिको केरा लगाउने रहेछन्। जी—९ चितवनतिर बढी हुनेरहेछ।”
आलुको बीउ उत्पादन
केराबाट सफलता नभएपछि उनीहरूले झापा र छिमेकी जिल्लामा कृषिका लागि के बढी प्रचलित छ भनेर अध्ययन गरे। त्यसपछि आलुको बीउ उत्पादन गर्ने निष्कर्षमा पुगे। अध्ययनबाट उनीहरूले विभिन्न प्रजातिका आलुको बीउ पाइने र कतिपय भारतबाट आएको गुणस्तरहीन भएको पाएका थिए।
“यहाँ आलु राम्रो उत्पादन हुने थाहा पाएपछि आलुको किटाणुरहित बीउ निकाल्ने सोच बनायौँ,” प्रशोधन भन्छन्, “यो हामीले आफै उत्पादन गर्न मिल्दैैन। त्यसैले नार्कबाट एउटा जाम जारमा भएको बिरुवा लिएर त्यसबाटै धेरै बिरुवा बनाई टनेलमा रोप्याँै।” टनेलमा रोपेका बिरुवाबाट आएको फललाई पूर्वमूल बीउ भनिन्छ।
पूर्वमूल बीउबाट खाने आलु फल्दैन। त्यसको तेस्रो पुस्ताबाट आएको बीउ मात्रै खानका लागि फलाइने बीउ बन्छ, जुन उन्नत र भाइरसमुक्त हुन्छ।
पूर्वमूल बीउ अहिले प्रतिगोटा करिब ८ रुपैयाँसम्म बिक्छ। त्यसबाट आएको बीउ पहिलो पुस्ता हो, जुन फेरि बीउमा नै प्रयोग हुन्छ। उक्त बीउ रोपेर आएको फल दोस्रो पुस्ता हुन्छ। त्यो पनि खान मिल्दैन, बीउकै रूपमा प्रयोग हुन्छ। त्यसबाट आएको फल तेस्रो पुस्ता हो, त्यसलाई चाहिँ किसानले मुख्य बीउका लागि प्रयोग गर्छन्। तेस्रो पुस्ता अर्थात् जी—३ बीउ उन्नत हुने प्रशोधन बताउँछन्।
यसरी उत्पादन गरिएको बीउको ५०० दानाले ७५ हजार केजीसम्म उत्पादन दिनसक्ने उनले अध्ययनमा पाएका छन्। “यहाँ शुरूमा थोरै देखिन्छ। तर पछि करोडौँसम्मको उत्पादन हुन्छ। यसका लागि कम्तीमा तीन जेनेरेसन पर्खनुपर्छ। बीउ उत्पादनका लागि तीन पुस्तासम्म होल्ड गर्न समस्या छ,” उनी भन्छन्।
यस वर्ष एपेक्स बायोटेकबाट उनीहरूले ४२ हजार दाना बीउ बेचे। अहिले किसानले मात्र नभई गाउँपालिकाहरूले अनुदानमा दिने बीउ पनि उनीहरूसँग किन्ने गरेका छन्। यसबाट बीउले गर्दा कम फल्ने वा नफल्ने समस्या समाधान भएको छ। तर उत्पादन बढाउन आलु रोप्दा कति फरकमा ड्याङ बनाउने, बोटहरू कति दूरीमा रोप्ने पनि ख्याल गर्नुपर्छ।
बिर्तामोडका किसान प्रदीप खनाल टिस्यु कल्चरबाटै निकालेको आलुको बीउ रोप्न थालेका छन्। पहिलेभन्दा फलमा एकरूपता छ। उनी भन्छन्, “पहिले भारतबाट आएको बीउ कहिले फल्दैन थियो, कहिले उम्रिदैन थियो। अहिले त्यो समस्या छैन।”
बजारमा बीउ भनेर बेचिने आलु खानका लागि प्रयोग गरिने नै भएकाले विभिन्न संक्रमण हुने प्रशोधन बताउँछन्। “हामी आलुको बीउ किन्न जाँदा कुन पुस्ता हो सोध्दैनौँ। बेच्नेलाई पनि थाहा हुँदैन। भारतबाट आएको हुन्छ, राम्रो होला भनेर ल्याउछौँ। अनि फल्दैन, किरा र खटिरा लाग्छ। किसानलाई क्षति हुन्छ,” उनी भन्छन्।
प्रशोधनका अनुसार नेपालमा कार्डिनल, डेजिरेलगायत विभिन्न १८ प्रजातिका आलु नार्कमा दर्ता भएका छन्। तीबारे पनि उनी अध्ययन गरिरहेका छन्। अध्ययनका लागि इलाम, पाँचथर, सिन्धुपाल्चोकलगायत थुप्रै जिल्ला घुमेका छन्।
आलुमा मात्रै नभएर समग्र कृषिमै आत्मनिर्भर बन्न बीउ प्रणालीमा सुधार ल्याउनुपर्ने उनको भनाइ छ। “कृषिमा आत्मनिर्भर बन्न बीउको उत्पादनमा ध्यान दिनुपर्छ,” उनी भन्छन्, “हाम्रोमा कृषिमा अध्ययन नै छैन, बीउ कस्तो हो थाहा हुन्न, हामीले प्रयोग गरेको मल बाली फलिसक्दा पनि माटोमा मिलेको हुँदैन। त्यसैले यी कुरामा अध्ययन अनुसन्धान नभए कृषि क्षेत्रमा सुधार हुँदैन।”
टिस्यु कल्चरबाट तरकारी र फलफूल मात्रै नभई नेपालमा पाइने विभिन्न औषधिजन्य बिरुवाहरूको व्यावसायिक खेति पनि गर्न सकिने उनी बताउँछन्। तर त्यसका लागि सरकारले लगानी र योेजना बनाउनुपर्ने उनको भनाइ छ।
आलुमै पीएचडी
प्रशोधन अहिले विभिन्न पालिकासँग किसानहरूलाई आलुको बीउबारे बुझाउँदै र तालिम दिँदै हिँडिरहेका छन्। उनीहरूकै सक्रियता र तालिमका कारण किसानहरू बीउ किन्न जाँदा पुस्ता सोध्ने गरेका छन्।
प्रशोधन अहिले आलुकै विषययमा काठमाडौँ विश्वविद्यालयबाट पीएचडी गरिरहेका छन्। उनले विभिन्न तीन प्रजातिका आलुको तुलनात्मक अध्ययन गरिरहेको बताए। “यहाँको लोकल आलुमा एउटा झ्याले, अर्को बिटे छ। अर्को लोकल चाहिँ सिन्धुपाल्चोकमा रहेछ। यी तीनवटा प्रजातिलाई एरोपोनिक, एपिकल रुट कटिङ ९एआरसी० र नर्मलमध्ये कुन पद्धतिले राम्रो उत्पादन दिन्छ भन्ने मेरो अध्ययनको विषय हो,” उनी भन्छन्।
आफ्नै ल्याबबाट उनले पहिलो चरणको अध्ययनको काम सकेका छन्। काम र पढाइ दुवै एउटै क्षेत्रमा भएकाले सजिलो भएको उनको भनाइ छ।
आलुमा पीएचडीसँगै नेपालमा बीउ प्रणाली स्थापित गराउने उनको लक्ष्य छ। बीउ र माटोबारे राम्रो अध्ययन गरेर कृषिमा लागे राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ। “घरमा सबै रिसाउँदा रिसाउँदै आएर कृषिमा काम गरिरहेको छु,” उनी भन्छन्, “यसमा सफल हुनु छ।”
झापा फर्किएर कृषि क्षेत्रमा काम गर्ने र आलुमा पीएचडी गर्ने बताउँदा नमज्जा मानेका उनका बुबा पनि अहिले छोराका मिहिनेत देखेर सन्तुष्ट छन्। छोराको पीएचडीको विषयलाई अहिले अन्यथा सोच्दैनन्। प्रशोधनलाई उनी भन्छन्, “तेरो रुचिको विषय हो। राम्रो गर।”
साभारः उकालाे डट कम