आफैंले नपत्याएको कामले नैनसिंहलाई दिलायो नाम र दाम


JUN 30, 2023

दिपकजंग शाही- 

सुर्खेत, असार १५ । नैनसिंह खड्काले १२ वर्षअघि परिवारको जीविकोपार्जनका लागि विभिन्न ठाउँमा जागिर गरे।

त्यति बेलासम्म उनलाई आफ्नै व्यवसाय वा कृषिको बारेमा सोच आएकै थिएन। उनले कृषि पेसालाई त पत्याएकै थिएनन्। खेती गरेर आम्दानी गर्न सकिन्छ जस्तो उनलाई लागेकै थिएन।

सुर्खेतको भेरीगंगा नगरपालिका–४ हर्रेका हुन् उनी। २०६८ सालतिर उनको गाउँमा एउटा गैरसरकारी संस्था पुग्यो। संस्थाले समूह बनाएर ‘करेसा बारी’ खेती गर्ने विषयमा सिकायो। गाउँलेलाई सक्रिय भएर नियमित करेसा खेती गर्न केही सहयोग पनि गर्‍यो।

जब करेसा बारीमा गरेको तरकारी खेतीबाटै आम्दानी हुन थाल्यो, तब मात्र नैनसिंहको सोच व्यावसायिक खेती गर्नेतर्फ मोडियो।

‘सुरूमा त यो खेती गरेर जीविकोपार्जन नै गर्न सकिँदैन भन्ने लागेको थियो। खेती सुरू गरेपछि धेरै कुरामा सहज भयो,’ नैनसिंहले भने, ‘खेतीमा जति मेहनत गर्न सक्यो, त्यति नै सफलता मिल्ने रहेछ।’

उनले तरकारी खेती गर्न थालेका १२ वर्ष भयो। उनी २५ रोपनी जग्गामा मौसमअनुसार तरकारी बाली लगाउँछन्। अदुवा, बेसार, काँक्रा र टमाटर बर्सेनि फलाउँछन्। धेरै जसो भने अदुवा उत्पादन गरिरहेका छन्।

नैनसिंहले बारीमा फलाएको तरकारी बेच्न बजारको समस्या खासै छैन। सुर्खेतको वीरेन्द्रनगर, बाँकेको कोहलपुर र नेपालगञ्जसम्म पुग्छ। यसबाहेक हर्रे बजारमा दुईवटा तरकारी पसल पनि चलाएका छन्।

सुरूमा थोरै जग्गामा फलाएको तरकारी बेच्दा सन्तोषजनक आम्दानी भएपछि थप हौसला मिलेको उनले बताए।

‘सुरूमा थोरै खेती गरेको थिएँ। त्यो बेचेर भएको आम्दानीले परिवारको जीविका चलाउन कतै जानु पर्दैन भन्ने महसुस भयो,’ उनले भने, ‘अब अझै बढाएर खेती गर्नुपर्छ भन्ने हौसला मिल्यो। त्यसपछि थप लगानी गरेँ।’

आफैंले नपत्याएको कृषि कर्मले आज नैनसिंहलाई नाम र दाम दुवै दिलाएको छ। आफूले फलाएको तरकारी बेचेर उनले वर्षको साढे तीन लाख रूपैयाँ चोखो बचत गर्छन्। परिवारको सबै खर्च कटाएर यो आम्दानी भएको उनले बताए।

‘आम्दानी राम्रै छ। विभिन्न निकायबाट हाकिमहरू मेरो खेती हेर्न आउनुहुन्छ,’ नैनसिंहले भने, ‘अरू ठाउँको कृषि अनुगमन गर्न आए पनि उहाँहरू मेरो बारेमा सोध्नुहुन्छ। कृषिले नाम पनि दिलाएको छ, कमाइ पनि भएको छ।’

व्यावसायिक रूपमा तरकारी खेती गरेपछि उनले हर्रेमै राजमार्ग छेउमा दुइटा घडेरी किने। छिन्चु बजारमा पनि घडेरी किनेका छन्।

नैनसिंहले पशुपालन पनि गाउँका अरू किसानले भन्दा बढी गरेका छन्। आफ्नो बारीमा भैंसी र बाख्राको गोठेमल (कम्पोस्ट) नै प्रयोग गरिरहेको उनले बताए।

‘गोठेमल प्रयोगले माटो नबिग्रिने र उत्पादन पनि गुणस्तरीय हुने भएकाले मलका लागि पनि बाख्रा र भैंसी पालेको छु,’ उनले भने।

तरकारी खेतीका लागि उनी आफैंले लगानी गरेर ‘लिफ्ट’ सिँचाइ पनि बनाएका छन्। चार सय मिटर तलको मूलबाट बारीसम्म लिफ्ट गरेर पानी ल्याउन सात लाख रूपैयाँ खर्च लागेको उनले बताए।

आफ्नो खेतीको बाहेक नैनसिंहले अरू किसानको उत्पादन पनि किनेर बजारमा पठाइदिन्छन्। सुर्खेत, दैलेख, जाजरकोट, सल्यानका किसानका फलफूल तथा तरकारीजन्य उत्पादन संकलन गरेर बजार पठाउने गरेको उनले बताए।

‘कतै किसानको उत्पादन खपत भएन भने उहाँहरूले मलाई फोन गर्नुहुन्छ। म गएर उहाँहरूले पाउनुपर्ने मूल्य दिएर उत्पादन उठाइदिन्छु र ठूला बजारमा पठाउँछु,’ उनले भने, ‘यही कारण मलाई सरकारी निकायबाट गाडीमा पनि अनुदान आएको थियो।’

अरू किसानको पनि उत्पादन बजारमा खपत गराइदिने भएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले उनलाई ढुवानी गर्ने गाडी किन्न साढे सात लाख रूपैयाँ अनुदान दिएको थियो। त्यसमा आफूले थप लगानी गरी २३ लाख रूपैयाँमा गाडी किनेको उनले बताए।

जग्गा चक्लाबन्दी गर्न, सिँचाइ पोखरी बनाउन, बेसार-मसला बनाउने मेसिन किन्ने लगायत कुरामा पनि परियोजनाले अनुदान सहयोग गरेको उनले बताए।

यसका बाबजुद किसानहरूलाई केही चुनौती भएको नैनसिंह बताउँछन्।

मूल्य निर्धारण, बजारको राम्रो व्यवस्थापन, बीउ तथा विषादीमा सहुलियत र प्रशासनलाई व्यावहारिक बनाउने लगायत काम नहुँदा काम गर्न असहज छ। यी काम राज्यले गरिदिए किसानहरूलाई सहज हुने उनी बताउँछन्।

त्यस्तै भारतबाट तरकारी आउने समयमा आफूजस्ता स्थानीय किसान पीडित हुनुपरेको उनले बताए।

‘भारतबाट सस्तोमा तरकारी आउँछ। हामीले गरेको उत्पादन हरेक हिसाबले महँगो पर्छ। त्यो तरकारी कस्तो हो भनेर बुझ्नुभन्दा पनि उपभोक्ताले सस्तो हेर्छन्,’ नैनसिंहले भने, ‘यतै विषादी परीक्षण गरी पठाउने व्यवस्था भएको भए भारतबाट आउने तरकारीको बारेमा उपभोक्ताले बुझ्थे। हाम्रो उत्पादनले मूल्य पनि पाउँथ्यो, बिक्री पनि हुन्थ्यो।’

स्राेतः https://www.setopati.com/kinmel/agriculture/305865