आर्थिक वर्ष ०८०–८१ मा खाद्य गुणस्तर सम्बन्धी १७८ मुद्दा दर्ता, यस्तो छ वार्षिक प्रगति विवरण र मुद्दा विवरण
कृषि तथा पशुपन्छी विकास मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र मातहतका कार्यालयले १७८ थान मुद्दा दर्ता गरेका छन्। ऐन विपरित कार्य गर्नेका विरुद्ध मुद्दा दर्ता गरिएको हो । विभागले खाद्य तथा दानापदार्थ सम्बन्धि गुणस्तर नियमन गर्ने निकाय हो ।
DFTQC को आ व २०८०_८१ को वार्षिक प्रगति विवरण सम्वन्धी विज्ञप्ति
……………………………..
प्रेस विज्ञप्ति
आ. व. २०८०/८१ को वार्षिक प्रगति विवरण सम्वन्धि विज्ञप्ति
आम उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न खाद्य ऐन, २०२३ तथा खाद्य नियमावली, २०२७ को प्रभावकारी कार्यान्वयन गर्दै खाद्य प्रविधिको विकास तथा खाद्यमा आधारित पोषणको सुधारका लागि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम संचालन, खाद्य पदार्थको विश्लेषण परिक्षणका लागि विश्वसनीय प्रयोगशाला सेवा प्रदान गर्ने र स्वच्छ व्यापार तथा व्यवसायमा सहजीकरण गर्ने कार्य खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयहरु गरी जम्मा ४३ कार्यालयहरुबाट हुँदै आएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयहरुबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक अवधिमा अर्थात् २०८० श्रावण १ देखि २०८१ असार मसान्तसम्ममा सम्पन्न मुख्य मुख्य कार्यहरु र सोबाट हासिल प्रगति यस प्रकार रहेका छन् ।
- खाद्य / दाना उद्योग तथा बजार निरीक्षण अनुगमन र गुणस्तर नियमन
- आर्थिक वर्ष २०८०/८१ को वार्षिक अवधिमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न खाद्य तथा दाना बजार अनुगमन ३६६३ पटक, खाद्य तथा दाना उद्योग अनुगमन ३२७७ पटक, होटल रेष्टुरेन्ट अनुगमन २५८५ पटक, रेपिड रेस्पोन्स अनुगमन ५४३ पटक, हाट बजार/ मेला महोत्सव अनुगमन ११६ पटक, संवेदनशिल खाद्य पदार्थ उत्पादन गर्ने उद्योग अनुगमन १०१९ पटक गरी जम्मा ११२०३ पटक अनुगमन भएको।
- यस अवधिमा निरीक्षण अनुगमनका क्रममा खाद्य तथा दाना ऐन नियमानुसार जम्मा ३,१२५ नमुनाहरु सङ्कलन भएको। ऐन बमोजिम संकलित नमूनाहरु मध्ये खाद्यान्न/दलहनका ८८७ वटा, फल तथा सागपात जन्य पदार्थ ३५९, तेल तथा घ्यूजन्य पदार्थ ३२६ वटा, मसलाका २९४ वटा, गुलियो पदार्थ/कन्फेक्सनरीका १६४ वटा, चिया/कफीका १५५ वटा, प्रशोधित पिउने पानीका ११४ वटा, दुध तथा दुग्ध पदार्थका ७९ वटा, नुनका ४० वटा, मासु तथा मासुजन्य पदार्थ ३ वटा, अन्य खाद्य पदार्थका १२९ वटा र दाना पदार्थका १०९ वटा गरी २,६५९ वटा नमुनाहरूको विश्लेषण परिक्षण गर्दा खाद्यान्न/दलहनका ३२ वटा, फल तथा सागपात जन्य पदार्थ १२ वटा, तेल तथा घ्यूजन्य पदार्थ १५ वटा, मसलाका ५ वटा, गुलियो पदार्थ/कन्फेक्सनरीका ९ वटा, चिया/कफीका ९ वटा, प्रशोधित पिउने पानीका १० वटा, दुध तथा दुग्ध पदार्थका ७ वटा र अन्य खाद्य पदार्थका १० वटा गरि जम्मा १०९ वटा (४.१०%) नमूनाहरुको परिक्षण प्रतिवेदन प्रतिकूल पाईएको थियो।
- खाद्य तथा दाना पदार्थ ऐन बमोजिम संकलित नमूनाहरुको विश्लेषण प्रतिवेदन अनुसार प्रतिकूल पाइएका खाद्य तथा दाना पदार्थहरु उत्पादन तथा बिक्रीवितरण गर्ने व्यवसायीहरुलाई आर्थिक वर्ष २०८०/८१ मा १७८ वटा मुद्दाहरु सम्वन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको। दायर गरिएका १७८ मुद्दाहरु मध्ये प्रशोधित पिउने पानीका ४५ वटा, खाद्यान्न/दलहनका २९ वटा, गुलियो पदार्थ/कन्फेक्सनरीका २२ वटा, तेल तथा घ्यूजन्य पदार्थ १८ वटा, दुध तथा दुग्ध पदार्थका १६ वटा, मसलाका ९ वटा, फल तथा सागपात जन्य पदार्थ ३ वटा, चिया/कफीका ३ वटा, अन्य खाद्य पदार्थका २१ वटा र दाना पदार्थका १२ वटा रहेको र सो मध्ये ६१ वटा मुद्दा दुषित, ५९ वटा मुद्दा न्यून गुणस्तरका, ३५ वटा मुद्दा लेबल सम्बन्धिका, र २३ मुद्दा खाद्य ऐन नियम निर्देशिका उलङ्घन सम्बन्धि रहेको।
- यस वार्षिक अवधिमा उद्योग अनुज्ञापत्र जारी ९३३ वटा, उद्योग नविकरण २,४३० वटा र उद्योग स्थापनार्थ दर्ताको सिफारिस १,४१७ वटा गरि जम्मा ४,७८० वटा उद्योगलाई सिफारिस गरेको।
- अनुगमन तथा कारवाही
- खाद्य पदार्थ जफत तथा नष्ट
यस आर्थिक वर्ष २०८०/८१ मा विभाग तथा मातहत कार्यालयहरुबाट बजार, उद्योग, होटल रेष्टुरेन्ट/ मिठाई पसल, फलफूल बजार, हाट/बजार एवं गुनासो उजुरी सम्बोधनका लागि रेपिड रेस्पोन्स मोडालिटिबाट अनुगमन गरीएकोमा म्याद गुज्रिएका, लेबल नभएका तथा ऐन/नियम/निर्देशिका बमोजिम नपाईएका करिव १ करोड १ लाख ६४ हजार ६ सय रुपैंया बराबरको मसला, खाद्यान्न, वियर, दालमोठ, चिप्स, मिट मसाला, चिजवल, मैदा, सुजी, जुस, अचार, हल्का पेय पदार्थ, खाद्य तेल लगायत विभिन्न किसिमका खाद्य तथा पेय पदार्थ जफत गरि नष्ट गरिएको।
- दालमा बाह्य रंगको अनुगमन
यस आर्थिक वर्षमा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेले भन्सार कार्यालयबाट पैठारीका लागि प्राप्त दालहरुका २ वटा नमुनाहरु जाँच विश्लेषण गर्दा बाह्य रंग पाईएकोले ८,३४० के.जी. दाल आयात अस्वीकृत गरेको। विभागमा प्राप्त २२ वटा दालहरुको नमूनाहरु जाँच परिक्षण गर्दा २ वटा रहरको दालमा कोलटार रंग प्रयोग गरेको, त्यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीबाट २१ वटा दालका नमूनाहरु जाँच परिक्षण गर्दा ३ वटा मासको दालमा बाह्य रंगको प्रयोग गरेको पाईएकोले कारवाहीको प्रकृयामा रहेको।
- रंगिन कटन क्यान्डिको अनुगमन तथा कारवाही
बालबालिकालाई लक्षित गरी खुला रुपमा विभिन्न रंगको प्रयोग गरी बिक्रीवितरण हुने Cotton Candy मा प्रयोग भएको रंग विभागले विश्लेषण परिक्षण गर्दा Carcinogenic Rhodamine B अखाद्य रङ्ग प्रयोग भएको पाइएकोले विभाग तथा मातहतका कार्यालयहरुबाट तत्काल सूचना जारी गरी आम उपभोक्तामा सुसूचित गराएको तत्कालै नियमन तथा कारवाही गरिएको। सो सूचनालाई संबोधन हुने गरी विभिन्न स्थानीय तहबाट समेत अनुगमन कार्य गरेको।
- खाद्य आयात निर्यात नियमन
- खाद्य आयात निर्यात निरीक्षण तथा गुण प्रमाणीकरण प्रणाली सम्वन्धी निर्देशिकाले व्यवस्था गरे अनुरूप आयात गर्नु पूर्व अनुमति लिनुपर्ने व्यवस्था रहे बमोजिम विभिन्न खाद्य पदार्थहरूको आयात पूर्व अनुमति लिने क्रममा आर्थिक वर्ष २०८०/८१ मा १५,६७८ वटा आयात अनुमति जारी गरिएकोमा आवश्यक कागजात पूरा नभएका Fish pickle, Milk chocolate, Jaggery,Vital wheat gluten, Assorted foods, Shortening, Gas fast, Refined oil, Dry yeast, Neutraceuticals लगायतका विविध खाद्य पदार्थहरु गरी जम्मा ६१ वटा कन्साइन्मेन्टहरुको अनुमति अस्वीकृत गरिएको। खाद्य पदार्थको आयात अनुमति पत्र जारी गर्ने कार्य नेपाल राष्ट्रिय एकद्वार प्रणाली (Nepal National Single Window) बाट अनलाइन मार्फत सेवा दिने कार्य भैरहेको।
- यस आर्थिक वर्षमा १,३३१ वटा उत्पादन दर्ता र १,६४१ वटा नविकरण समेत गरि जम्मा २,९७२ वटा आहारपूरक खाद्य पदार्थ नियमन गरिएको।
- प्रयोगशाला स्तरीकरण तथा विश्लेषण सेवा
- प्रयोगशाला एक्रिडिटेशन
- आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको एक्रिडिटेशन प्यारामिटर २८६ वटा बाट केमिकल्स, माईक्रोबायोलोजीकल्स तथा कन्टामिनान्ट्स गरी ३५० वटा प्यारामिटरहरुमा एक्रिडिटेशन क्षेत्र विस्तारका साथै Food Safety and Standards Authority of India (FSSAI) बाट Integrated Assessment को Recognition प्राप्त भएको।
- विभाग अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरको प्रयोगशालामा ७ किसिमका खाद्य पदार्थ (Spices ( Ginger, Cardamom, Cumin, Coriander, Cloves, Pepper), Tea and Coffee, Cereal products, Honey, Fats and oil, Fruits and Vegetable products, Milk) को २३ वटा पारामिटरमा NABL, India बाट एक्रिडिटेशन रहेको।
- प्रयोगशालाको क्षमता अभिवृद्धि
- राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा आहारपुरक खाद्य पदार्थमा Vitamins (B1, B2, B3 र B6) को विश्लेषण परिक्षण गर्नका लागि विधि विकास गरिएको।
- ताजा तरकारी तथा फलफूलमा जीवनाशक विषादी अवशेष परिक्षणका लागि विभाग अन्तर्गत १२ वटा भन्सार नाका स्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरु लगायत १६ स्थानबाट परिक्षण सुविधा भएकोमा यस आर्थिक वर्षमा थप ५ स्थानमा प्रयोगशाला उपकरणको व्यवस्था गरी विभाग तथा मातहतका सबै कार्यालयहरुबाट सो सेवा प्रवाह हुने गरी व्यवस्था गरेको।
- यस आर्थिक वर्षमा विभाग मातहतका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुर, हेटौडा, भैरहवा, नेपालगन्ज तथा धनगढी र खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, रानी, बीरगन्ज, बेलहिया तथा नेपालगन्ज गरी १० वटा कार्यालयहरुमा ढुसीजन्य विष (Aflatoxin) परिक्षणका लागि आवश्यक मेशिनरी उपकरणको व्यवस्था गरिएको।
- विभाग तथा मातहतका प्रयोगशालाको क्षमता अभिवृद्धि गर्ने क्रममा मानव स्वास्थ्यको लागि हानीकारक औद्योगिक ट्रान्स फ्याट परिक्षणका लागि बिराटनगर र भैरहवा स्थित कार्यालयहरुमा, हेभी मेटल परिक्षणका लागि भैरहवा र नेपालगन्ज कार्यालयहरुमा र खाद्य योगशील परिक्षणका लागि बिराटनगर, भैरहवा र नेपालगन्ज स्थित कार्यालयहरुमा प्रयोगशाला उपकरणहरुको व्यवस्था गरेको।
- प्रयोगशाला विश्लेषण सेवा
आर्थिक वर्ष २०८०/८१ को वार्षिक अवधिमा विभागको राष्ट्रिय खाद्य तथा दाना रेफेरेन्स प्रयोगशाला तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरुका प्रयोगशालाहरुबाट खाद्य ऐन नियम बमोजिम संकलित नमुना, खाद्य उद्योग अनुज्ञापत्र जारी तथा नवीकरणसंग सम्वन्धित नमुनाहरु तथा खाद्य पदार्थ निर्यात प्रयोजन (छर्पी, चिया, कफी, खाद्यान्न, अचार, चाउचाउ, मह) का नमूनाहरु लगायत गरी जम्मा २६,३०७ वटा नमुनाहरुको प्रयोगशाला जाच परिक्षण गरिएको।
- भन्सार विन्दुमा खाद्य पदार्थ नियमन
यस वार्षिक अवधिमा विभाग अन्तर्गत १२ वटा विभिन्न भन्सार विन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरुबाट खाद्य तथा पेय पदार्थहरुका ४६,९४८ वटा नमूनाहरूको जाँच विश्लेषण गरी नियमन गरिएकोमा ४५ वटा नमूनाहरु प्रतिकूल पाइएको। त्यसैगरी नेपालमा आयात हुने ताजा तरकारी तथा फलफूलका ६३,३५७ वटा नमुनाको RBPR विधिबाट जीवनाशक विषादी अवशेष परिक्षण गरिएकोमा ३७ वटा नमूनाहरु प्रतिकूल पाइएको।
- प्रयोगशाला सूचना व्यवस्थापन प्रणाली लागू
विभागले राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाबाट प्रदान गरिने खाद्य तथा दाना पदार्थको विश्लेषण परिक्षण सेवालाई सहज र थप प्रभावकारी बनाउन अनलाईन प्रणालीमा आधारित Laboratory Information Management System (LIMS) प्रणालीको विकास गरी संचालन ल्याएको र खाद्य तथा दाना पदार्थको विश्लेषणका लागि उद्यमी व्यवसायी एवं संघसस्थालाई उक्त प्रणालीमा आवद्ध भई सेवा प्राप्त गर्न सूचित गरेको।
- खाद्य स्तर निर्धारण
- मन्त्रिपरिषदबाट स्वीकृत भई नेपाल राजपत्रमा प्रकाशित मापदण्डहरु
- अन्नमा आधारित पूरक बाल आहार
- खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सिमा
- खाद्य पदार्थको प्रत्येक्ष सम्पर्कमा आउने गरी मसिले लेखिएको, छापिएको वा रंगाइएको कागजको प्रयोगमा बन्देज
- स्तर निर्धारण समितिबाट स्वीकृत भई नेपाल राजपत्रमा प्रकाशनको प्रकृयामा रहेका मापदण्डहरु
- Rolled Oats को गुणस्तर मापदण्ड
- मस्यौराको गुणस्तर मापदण्ड
- स्तर निर्धारण समितिबाट स्वीकृत भई WTO SPS Notification को प्रकृयामा रहेका मापदण्ड
- छुर्पिको गुणस्तर मापदण्ड
- होटल लोगो स्तरीकरण
यस आर्थिक वर्षमा १४८ वटा होटल रेस्टुरेन्ट स्तरीकरण गरिएकोमा ९ वटाले अति उत्तम, ३४ वटाले उत्तम, ४२ वटाले सामान्य र ६३ वटाले सन्तोषजनक पाएको।
अन्त्यमा, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ यहि श्रावण १९ गते बाट लागू भएको सन्दर्भमा सम्वद्ध सबै सरोकारवालाहरुमा आवश्यक सहयोग र सहकार्यको लागि विभाग हार्दिक अपिल गर्दछ। यसरी खाद्य स्वच्छता तथा गुणस्तर सम्वन्धी विभिन्न समाचार सामाग्री वर्ष दिन भरि आम उपभोक्ता तथा सरोकारवालाहरुमा पुर्याउन महत्वपूर्ण भूमिका निभाउनु हुने सम्पूर्ण पत्रकार मित्रहरुको योगदानको उच्च कदर गर्दै आगामी दिनमा पनि यहाँको साथ र सहयोग प्राप्त हुने विभागले आशा एवम् विश्वास लिएको छ । धन्यवाद ।
मोहन कृष्ण महर्जन
प्रवक्ता
२०८१।०४। २३