काठमाडौँ । किसानले दुधको भुक्तानी नपाएको लगायतका समस्या समाधान गर्नका लागि सरोकारवालाबिच सहमति भएको छ ।
आइतवार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छलफलपश्चात सरकार, किसान, कृषि सहकारी तथा दुग्ध उद्योगीबिच १० बुँदे सहमति भएको हो ।
कृषि तथा पशुन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र मिश्र, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादव, दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक राजेन्द्र अधिकारी, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमर कुँवर, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालसमेत १४ जना सरोकारवालाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार २०८० चैत्र मसान्तसम्म भुक्तानी हुन बाँकी रकम असार २७ सम्म गरिसक्ने र वैशाख र जेष्ठको बाँकी बक्यौता रकमको भुक्तानी २०८१ भाद्र मसान्तसम्म गरिने भएको छ ।
सहमतिसँगै केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालले घोषणा गरेका आन्दोलनका कार्यक्रमहरू हाललाई स्थगन गर्ने समेत सहमति भएको छ ।