खाद्यका लागि कृषि अभियान र अनाजको आयोजनामा यसरी मनाइयो खेतीपाती महोत्सव


JUN 29, 2024

काठमाडौँ । खाद्यका लागि कृषि अभियान, कालिदेवी उच्च मावि काभ्रेस्थली र एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट (अनाज)ले शनिवार तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा शनिवार २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएका छन् ।

‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित मनाएको दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमा संस्कृति बहस, मौलिक लोकभाकाका गीत तथा नृत्यसहित रोपाई भएको थियो ।

सो रोपाई कार्यक्रममा विभिन्न संघ संस्थाका व्यक्तित्व, विद्यार्थी तथा स्थानीयहरूको सहभागिता थियो । धानको उत्पादनमा वृद्धि गरी परनिरर्भरता हटाउने उद्देश्यले नेपालमा २०६१ सालदेखि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेको हो । यो दिवसमा धान रोपाइसँगै दही, चिउरा खाने चलन छ । त्यसैले यसलाई दही चिउरा खाने दिनको रूपमा पनि मनाइन्छ । नेपालका लागि धान मुख्य बाली हो । यसको उत्पादनमा सरकारले विशेष ध्यान दिएको छ तैपनि आत्मनिर्भर हुन सकेको छैन ।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले करिब २० वर्षदेखि सरकारले यो धान दिवस मनाउँदै आएको हो तर उत्पादनको अवस्था जस्ताको त्यस्तै रहेको गुनासो गर्नुभयो । धान उत्पादनमा सरकारले जति मेहनत गरेपनि अझै परनिर्भरताको अवस्था नै रहेको बताउँदै उनले सरकारले धानको समर्थन मूल्य तोके पनि त्यसको मूल्य किसानले नपाएको गुनासो गरे ।

आत्मनिर्भर हुनका लागि सरकारले विभिन्न उन्नत जातका धान तथा चैते धानको उत्पादनमा जोड दिएको बताउँदै उनले उत्पादन भएकै धानलाई व्यवस्थित गर्नुपर्ने अवस्था रहेको बताए ।

जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एवं उपलव्ध प्रविधिहरूको विषयलाई सचेतना फैलाउने सन्देश यो वर्षको धान दिवसको नाराले दिएको छ ।

योवर्ष असार मध्यसम्म पनि पर्याप्तमात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन। सरकारी तथ्यांकअनुसार अहिलेसम्म ९.८ प्रतिशत मात्र रोपाइ भएको छ।