विश्व खाद्य स्वच्छता दिवस, खाद्य स्वच्छता सप्ताह सुरु (प्रेस विज्ञप्ति)


JUN 1, 2024

विश्व खाद्य स्वच्छता दिवसको सन्दर्भ पारेर नेपालमा खाद्य स्वच्छता सप्ताह सुरु भएको छ । जेठ १९ देखि २५ सम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अगुवाइमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो । जेठ २५ गते काठमाडौँमा मुल समारोह हुनेछ भने देशैभरी विभिन्न कार्यक्रम गर्दै दिवस मनाइदैछ ।

यस्तो छ विभागको प्रेस विज्ञप्तिः

नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
बबरमहल, काठमाडौं

विश्व खाद्य स्वच्छता दिवस, २०८१ सम्वन्धी प्रेस नोट

खाद्य स्वच्छताको महत्वलाई आम जनमानसमा पुर्याउन विभागले सोह्र वर्ष अघि बि. सं. २०६५ देखि शुरु गरेको खाद्य स्वच्छता दिवसको अभियानलाई समर्थन हुने गरी खाद्य तथा कृषि संगठन (FAO) र विश्व स्वास्थ्य संगठन (WHO) को प्रस्तावमा सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्र संघको महासभा (UN General Assembly) ले हरेक वर्ष जुन ७ का दिन विश्व खाद्य स्वच्छता दिवस (World Food Safety Day) मनाउने निर्णय भई सन् २०१९ देखि हरेक वर्ष ७ जुनका दिन विश्वभरि विविध कार्यक्रमका साथ विश्व खाद्य स्वच्छता दिवस मनाईदै आएको छ। यस वर्ष पनि “खाद्य स्वच्छतामा लगानी बढाऔं, अप्रत्याशित अवस्थाको पूर्वतयारी गरौं (Food safety: prepare for the unexpected)” नाराका साथ विश्व खाद्य स्वच्छता दिवस, २०८१ मनाउन गईरहेका छौं।

विश्व स्वास्थ्य संगठन (WHO) को सन् २०२२ को तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष प्रत्येक दस मध्ये एक जना व्यक्ति दूषित खाद्य पदार्थको उपभोगका कारण विरामी हुने गरेको र ४ लाख २० हजार मानिसको मृत्यु हुने गर्दछ। जीवनाशक विषादीको अवशेष, भेटरीनरी ड्रगको अवशेष, ढुसीजन्य विष, हेभि मेटल लगायतका हानीकारक तत्वको उपस्थिति एवं रोगजन्य शुक्ष्म जीवाणुहरुको संक्रमण कारण खाद्य पदार्थ दूषित भई आर्थिक एवं मानवीय क्षतिको जोखिम रहन्छ। यस प्रकारका विभिन्न जोखिमबाट हुन सक्ने अप्रत्याशित अवस्थाको पूर्वतयारी गर्न खाद्य स्वच्छतामा लगानी अभिवृद्धि गर्दै जोखिम न्यूनीकरणका लागि खाद्य श्रृंखलाको प्रारम्भिक उत्पादन देखि प्रशोधन, सञ्चयन, ढुवानी, बिक्रीवितरण र उपभोगसम्मको प्रत्येक चरणमा सम्लग्न सबै सरोकारवालाको अहम् भूमिका रहन्छ।

नेपालको संविधानले मौलिक हक अन्तर्गत प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने उपभोक्ताको हकको व्यवस्था गरेको छ। तसर्थ खाद्य स्वच्छता र गुणस्तरीयताको नियमन कार्यलाई समयानुकूल सुदृढ र प्रभावकारी बनाउन संघिय संसदले “खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१” जारी गरेको छ। यस ऐनले मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य श्रृंखलाका सबै चरणमा बैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र यसको नियमनको कानूनी व्यवस्था गरेको छ। ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्वन्धित खाद्य व्यवसायी, सरकारी एवं गैर सरकारी संघसस्था, उपभोक्ता हकहितसंग सम्वन्धित संघसस्था, खाद्य तथा पोषणसंग सम्वन्धित संघसस्था, आम सन्चार माध्यम लगायतका सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहन्छ।

यस सन्दर्भमा “खाद्य स्वच्छतामा लगानी बढाऔं, अप्रत्याशित अवस्थाको पूर्वतयारी गरौं” नाराका सहित विश्व खाद्य स्वच्छता दिवसको अवसरमा २०८१ जेठ १९ देखि २५ (1 – 7 June 2024) सम्म सप्ताहव्यापी रुपमा खाद्य स्वच्छता सम्वन्धि निम्न कार्यक्रमहरु सन्चालन गरि देशैभरि भव्यताका साथ मनाउन गइरहेका छौं।

• विश्व खाद्य स्वच्छता दिवसको नारा र सन्देश सहितको व्यानर राख्ने र प्रेस नोट जारी

• विश्व खाद्य स्वच्छता दिवस, २०८१ जेठ २५ (7 June 2024) को अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यू, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्रीज्यू, श्रीमान् सचिवज्यूहरु तथा विभागका महानिर्देशकज्यूको शुभकामना सन्देश प्रकाशन

• ३ जुन २०२४ का दिन खाद्य तथा दाना उद्योग दर्ताको सिफारिस तथा उद्योग अनुमती पत्र जारी तथा नवीकरण कार्यलाई अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्न नेपाल कृषि बजार विकास कार्यक्रम (SAHAJ) को प्राविधिक सहयोगमा विकसित Nepal Food and Feed Industry Licensing System (NeFFILS) को शुभारम्भ

• विभाग र मातहतका कार्यालयहरुबाट दुग्ध पदार्थ, प्रशोधित पिउने पानी, मासुजन्य पदार्थ, तरकारी फलफूल, होटल रेष्टुरेण्ट, स्ट्रिट फुड्स लक्षित विशेष अनुगमन निरिक्षण कार्यक्रम

• विश्व खाद्य स्वच्छता दिवसको नारा तथा खाद्य स्वच्छता सम्वन्धी सूचना सन्देशका चेतनामूलक पर्चा पम्प्लेट प्रकाशन तथा प्रचार प्रसार

• ६ जुन २०२४ का दिन विश्व स्वास्थ्य संगठन (WHO) तथा Codex Trust Fund को सहकार्यमा खाद्य स्वच्छता सम्वन्धि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम

• खाद्य प्राविधिक तथा पशु चिकित्सा सम्वन्धि कलेजहरुमा खाद्य स्वच्छता तथा प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance -AMR) सम्वन्धि सचेतना कार्यक्रम

• खाद्य स्वच्छतासंग सम्वन्धित सरोकारवालाहरु (सरकारी निकाय, गैर सरकारी संघसस्था, शिक्षण संघसस्था, एवं उपभोक्ता हकहित संग सम्वन्धि संघसस्थाहरु लगायत) को सहभागीतामा विश्व खाद्य स्वच्छता दिवस, २०८१ को अवसरमा ७ जुन २०२४ तदनुसार २५ जेठ २०८१ का दिन बिहान ७:०० बजे प्रभातफेरि कार्यक्रम

अन्त्यमा, खाद्य स्वच्छताको महत्व बारे आम जनमानसलाई सुसूचित गर्न सम्पूर्ण सरोकारवाला तथा सन्चार माध्यमको महत्वपूर्ण भूमिका रहने भएकोले यहाँहरु सबैको सदा झैँ सहयोग र सहकार्यको अपेक्षा गर्दै कार्यक्रममा सक्रिय सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछौं।

 

मोहन कृष्ण महर्जन
प्रवक्ता
२०८१/०२/१७