‘विश्व सामाजिक मञ्च २०२४’ खाद्यका लागि कृषि अभियान र सम्वद्ध सदस्यहरूको अपिल


FEB 14, 2024

अपिल

दाजुभाइ र दिदीबहिनीहरू,

यहाँहरु सबैलाई यस मञ्च र हिमालको काखमा रहेको देशमा स्वागत छ १

हाम्रो जीवन असुरक्षा र त्रासले उकुसमुकुस भएको  छ । यस्तो किन भइरहेको छ रु धेरैलाइ थाहा छैन, थाहा पाउने र केही गर्न सक्नेहरु विभिन्न स्वार्थमा विभाजित छन्, केही थाहा पाउनेहरु उदास र व्यग्र छन् । मानिस केन्द्रित उत्ताउलो व्यवहारले बितेका कैयौ दशकदेखि सम्पूर्ण प्रकृतिको लय खलबलिदै आएको छ । बितेका केही दशकमा यो क्रम तिव्र गतिमा बढिरहेको छ । श्रम बिनाको मुनाफा, त्यसका लागि हुने प्रकृति र श्रमिकको दोहन र यस्तो दोहन गर्न भइरहेको विश्वव्यापि प्रतिस्पर्धाले जन्माएको संस्थागत हिंसाले समाज आक्रान्त छ । यसको प्रतिरोध विल्कुलै नभएको होइन । यस्तो प्रतिरोध औपनिवेशिक कालदेखि विश्वस्तरमा र स–साना समूहहरु र व्यक्तिगत स्तरमा सबैतिर र सधैँ भइरहेको छन् ।

युद्ध र प्रकृतिको विध्वंसले हाम्रा प्रयत्नहरु झीना सावित गरिदिन्छन् तर पनि सबैखाले विभेद, अन्याय, उत्पीडन भन्दा पर अर्को विश्व सम्भव छ भन्दै शुरु गरिएको सामाजिक आन्दोलनको यो मञ्च हामी हतास छैनौं र बढ्दो कोलाहलका बिच पनि हाम्रो आस मरेको छैन भन्ने कुराको एउटा बलियो प्रमाण हो ।

उपनिवेशी औद्योगिक विकासको ढाँचाले यस पृथ्वीका सबै खाले विविधता तहसनहस गरिरहेको छ । सबै खाले श्रोतमाथि मुठ्ठीभरको एकाधिकारले सबै तहमा विभेद र थिचोमिचो बढाईरहेको छ । विश्वभरका सीमान्तकृत श्रमजीवी समुदायहरु रातोदिन जीवन मरणको कठिन सघर्ष गर्न बाध्य छन् ।

मानिस आफैले विकास गरेको प्रविधिको उन्नति र भइरहेको भूमण्डलीकरणसँगै यस्तो उत्ताउलो विकास विषवृक्षको रुप लिएर सबैतिर झाँगिदै गएको छ । यसको जरामा पानी हाल्न सबैखाले भुईफुट्टा ठगहरु लामबद्ध छन् । अपवाद बाहेक, बजार, राज्य र नागरिक समाजको अगुवा दस्ता पनि यिनैका पछि गोलचक्कर लगाईरहेको छ । फलस्वरुप सिमान्तीकृत वर्ग, लिङ्ग, समुदाय र भूगोल आन्तरिक तथा बाह्य उपनिवेशी थिचोमिचोबाट आक्रान्त छौं ।

स्थानीय विशेषताको खेतीपाती प्रणाली उन्नत बनाउने भन्दा भिन्न आधुनिक हुन भन्दै प्रोत्साहन गरिएको खनिज उर्जामा आधारित भौतिक विकास, प्रकृतिको अति दोहन, कृत्रिम रसायन र विषादीमा आधारित एकल र सफा खेती प्रणालीले हरित ग्यास उत्सर्जन, तापक्रम वृद्धिका साथै पानी चक्रमा अनिश्चितता बढाएको छ । हावा, सास फेर्न अयोग्य छ । पानी, पिउन । माटो निरन्तर मर्ने क्रममा छ । हावा, पानी, माटो र वातावरणको परस्परको अन्तरसम्बन्धमा सदियांैदेखि परिष्कृत हुँदै आएको खेति प्रणाली जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमहरुको चपेटामा परेको छ । यसको व्यापक असर र प्रभावसँगै अहिले हाम्रो जलचक्रका साथै जिवनचक्र समेत खल्बलिँदै गएको छ ।

खासगरी, स्थानीय विशेषताको रैथाने खेती प्रणाली समथर मैदानी खेती प्रणालीले विस्थापित गरेको छ । परम्परागत रैथाने ज्ञान, सिप र प्रविधि  प्रकृतिसम्मत एवं विवेक परिष्कृत हुनुको साटो सधैंका लागि मेटिने खतरा बढेको छ । हिमालयको जलाधारमा रहेका हामी नेपाली सम्भवतः तटीय देशहरु बाहेक अरु क्षेत्रहरु भन्दा धेरै सामाजिक, सांस्कृतिक र वातावरणीय जटिलताबाट गुज्रिरहेका छौं ।

परिस्थिति सम्हाल्न ढिला हुनु अघि नै भविष्यको खेतीपाती र खानाका बारेमा गम्भीरतापूर्वक सोच्न पर्ने भएको छ । साझा प्राकृतिक स्रोतहरुको समानुपातिक वितरण, प्राकृतिक खेती प्रणालीको अवलम्बन, स्थानीयतामा आधारित तुलनात्मक लाभका खेती प्रणालीको विकाससँगै खानाका लागि खेतीपातीका सवालहरु फर्केर हेर्न र सच्याउन सबै तहमा पहल होस् भन्न चाहन्छौँ । समग्रमा अब यसरी हुँदैन भन्न नसके यो थिचोमिचो अझै बढ्ने छ ।

समय घर्किंदैछ तर अझै पनि हामीले चाहेमा गर्न सक्छौं । हामी एकताबद्ध भएर विद्यमान वैश्विक प्रणाली फेर्न दबाव दिन आवाज ठुलो बनाउन सक्छौं । गच्छे अनुसार आफैँ यसको अभ्यास गर्न सक्छौं । स्थानीय अनुभव साटफेर गरेर एक अर्काबाट सिक्न सक्छौं ।

आउनुहोस्, यि कुरा आत्मसात गर्ने व्यक्ति, समुदाय र राज्यहरु ऐक्यबद्धता बढाउँदै हातेमालो गरौँ । हाम्रा विवेकपूर्ण साझा प्रयासले मात्र हाम्रो भविष्य सुरक्षित हुन्छ । यो मात्र हाम्रो आफ्नै र हाम्रा सन्ततिका लागि जिवन्त पृथ्वि बचाउने अन्तिम उपाय हो ।

 

ऐक्यबद्धता सहित

खाद्यकालागि कृषि अभियान र सम्बद्ध सबै

मितिः २ फागुन २०८०

WSF combines documents