दोश्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा सप्ताह मनाउने सम्बन्धि जानकारी तथा कार्यक्रम तालिका


JAN 13, 2024

कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, श्रीमहल, ललितपुरकाे संयाेजनमा माघ १ देखि ७ गतेसम्म सम्पन्न हुँदै गरेकाे दाेस्राे राष्ट्रिय जैविक विविधता दिवस तथा  कृषि जैविक विविधता सप्ताह  हुँदैछ । यस सम्बन्धि विस्तृत जानकारी: 

 

दोश्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा कृषि जैविक विविधता सप्ताह जानकारी तथा कार्यक्रम तालिका

कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा र गरिव तथा सिमान्तकृत समुदायको जिविकोपार्जनको प्रमुख आधार हो । नेपालको संविधानमा जैविक स्रोतहरुको संरक्षण र दिगो उपयोगलाई उच्च महत्व दिइ राज्यको नीतिमा उल्लेख गरिएको छ भने जैविक विविधता संरक्षणमा तिनै तहको सरकारको भूमिका रहने पनि उल्लेख छ । यसै गरि नेपाल जैविक विविधता संरक्षण सम्वन्धि विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरुको पक्ष राष्ट्र समेत रहेको छ ।

जैविक विविधतामा धनि भएता पनि पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेति प्रणालीका कतिपय नकारात्मक प्रभावका कारण समग्र जैविक विविधता र खासगरी कृषि जैविक विविधताको ह्रासलाई तिव्र बनाएको छ । नेपालमा कृषि आनुवंशिक श्रोत (कृषि बाली एवं सम्बन्धित जंगली प्रजाती, घाँसे बाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक श्रोत, कृषि महत्वका कीरा र कृषि महत्वका सुक्ष्म जीव) मध्ये करिव ४० प्रतिशत लोप भै सकेको हुन सक्ने अनुमान गरिएको छ। हाम्रा कैयन सामाजिक, धार्मिक तथा साँस्कृतिक परम्परा एवं अवसरहरु कृषि जैविक विविधतासंग जोडिएका भएता पनि त्यस्ता विशेष पर्व वा अवसरहरुमा अन्तरनिहित कृषि जैविक विविधतासंग सम्वन्धित पक्षहरुलाई अपेक्षित रुपमा उजागर एवं प्रचार प्रसार गर्न सकिएको देखिँदैन।

कृषि जैविक विविधताको महत्व र यसको संरक्षण बारे आम सर्वसाधारण र सरोकारवाला सबै पक्षहरु जानकार र सचेत भइ तिनको संरक्षण र दिगो उपयोगमा जोड दिनु पर्ने टड्कारो आवश्यकता देखिन्छ । यसै परिप्रेक्ष्यमा नेपाल सरकारको निर्णय बमोजिम कृषि जैविक विविधताको महत्व र यसको संरक्षणको आवश्यकता बारे प्रचार प्रसार र कृषि जैविक विविधताको संरक्षण र प्रवर्द्धन सम्बन्धि विभिन्न क्रियाकलाप संचालन गरि वि. सं. २०७९ साललाई “राष्ट्रिय कृषि जैविक विविधता बर्ष को रुपमा मनाइएको थियो भने नेपाल सरकार मन्त्रीपरिषदबाट मिति २०७९/५/२७ मा प्रत्येक बर्षको माघ १ गतेलाई “राष्ट्रिय कृषि जैविक विविधता दिवस को रुपमा मनाउने निर्णय बमोजिम माघको पहिलो हप्तालाई कृषि जैविक विविधता सप्ताहकै रुपमा मनाउन शुरुआत गरिएको थियो । यस दिवसले नेपालमा परम्परागत रुपमा रहेका अनेकौँ जातजाती तथा धार्मिक एवं सांस्कृतिक परम्पराहरुसँग सम्बन्धित कृषि र खानाका परिकार तथा संबद्ध सिपको जगेर्ना गर्नमा मद्दत पुर्याउनुको अलावा स्थानीय कृषि आनुवंशिक स्रोतहरुको संरक्षण एवं दिगो उपयोगको साथै वातावरण संरक्षणमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८० मनाउने संदर्भमा कृषि विभागका महानिर्देशकको अध्यक्षतामा बसेको सम्बन्धित निकाय र सरोकारवालासहितको बैठकबाट यस बर्षका लागि कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा; संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता  भन्ने नारा तय गरी माघको पहिलो हप्ताभर कृषि जैविक विविधता संरक्षण र दिगो उपयोग बारे जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्ने तय भएको छ । उक्त बैठकले प्रादेशिक निकायहरु, स्थानीय तह लगायत सरकारी र गैर सरकारी संस्थाहरु र निजी क्षेत्रलाइ पनि यस सम्बन्धी कार्यक्रमहरु संचालन गरी मनाउन अनुरोध गरेको छ ।

यस वर्षको राष्ट्रिय कृषि जैविक विविधता दिवसको नारामा आधारित रहेर कृषि आनुवंशिक श्रोतहरु र कृषकका परम्परागत ज्ञान समेतको संरक्षण र दिगो उपयोगमा सचेतना अभिवृद्धि लगायतका कार्यक्रम तथा क्रियाकलाप सप्ताहव्यापी रुपमा आयोजना गरि भव्यताका साथ मनाउन सात वटै प्रदेश र मातहतका निकायहरु, सबै स्थानीय तहहरु, कृषक, कृषक समुह/सहकारी, विभिन्न संघ/संस्था, मिडिया र सम्पूर्ण सरोकारवालाहरुमा कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय हार्दिक आव्हान गर्दछ।

राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८० का अवसरमा माघ पहिलो हप्ताभर आयोजना गरिने प्रमुख कार्यक्रम एवं कृयाकलापहरु

थप जानकारिको लागि: कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, श्रीमहल, ललितपुर

इमेल: cdabc2018@gmail.com फोन: ०१-५५२११५१, ५५५०२२६  मो: ९८५१२०९२६

 

राष्ट्रियजैविक बिबिधता दिवस तथा सप्ताह मनाउने सम्बन्धि जानकारी- PDF